खोटाङ, २६ वैशाख । वि.सं. २०३३ सालदेखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहनुभएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका घागामगरको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो ।
यही वैशाख–७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई गएराति ८ बजे घर ल्याइएको थियो । घागामगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बन्नुभएका घागामगरको पाँचवर्षे कार्यकाल सकिनै लाग्दा आज बिहान आफ्नै निवासमा निधन भएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभएको छ ।
वि.सं. १९९७ मङ्सिर १५ गते जन्मनुभएका वडाध्यक्ष घागामगर गाउँपालिकाभित्र कै सबैभन्दा ज्येष्ठ जनप्रतिनिधि हुनुहुन्थ्यो । काँग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगी वडाध्यक्ष घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि अक्सिजन दिएर घर ल्याइएको थियो ।
पञ्चायत कालमा वि.सं. २०२२ सालदेखि राजनीतिमा सक्रिय हुनुभएका घागामगर वि.सं. २०३३ सालमा वडाध्यक्ष, वि.सं. २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष हुनुभएको थियो । वडाध्यक्ष घागामगरको निधनले सिङ्गो मगर समुदायले आफ्नो अभिभावक गुमाएको नेपाल मगर सङ्घ खोटाङका जिल्ला सचिव एलबी लुङ्गेलीमगरले बताउनुभयो ।
वडाध्यक्ष घागामगरको निधनपछि उहाँको पार्थिव शरीरमा काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरिएको काँग्रेस खोटाङले जनाएको छ । वडाध्यक्ष घागामगरको निधनले सिङ्गो पार्टी समितिलाई मात्र नभइ जिल्लालाई नै ठूलो क्षति पुगेको नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो ।
लामो समयदेखि सक्रिय राजनीतिमा लागेर निरन्तर जनप्रतिनिधिको भूमिकामा रहनुभएकै समयमा वडाध्यक्ष घागामगरको निधन भएपछि मगर सँस्कार अनुसार आजै उहाँको दाहसँस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । वडाध्यक्ष घागामगरको अन्त्यष्टि कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख, उपप्रमुखका साथै गाउँपालिकामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।