दिक्तेल रुपाकोट मझुवागढी नगरको अधुरा सपना पूरा गर्न बिणादेवीको उम्मेदवारी

Halesi Khabar
0 Shares

खोटाङ । खोटाङको केन्द्र मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेवी राई उपमेयरमा बिजयी बन्नुभयो ।

रिजाल पाँच वर्षे कार्यकाल पूरा गरी विदा हुने तरखरमा हुनुहुन्छ, भने मेयरमा कुमार आचार्य र उपमेयरमा पुःन बिणादेवी उम्मेदवार बन्नुभएको छ । यसको छिनोफानो ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्नेछ ।
नगरको विकासका लागि रिजाल र राईको नारा थियो, ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगर : दिक्तेल रुपाकोट मझुवागढीबासीको रहर’ ।

यही नारालाई मुलमन्त्र बनाइएको नगरमा ७५३ स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहिलो आवधिक योजना बन्यो । दिक्तेलबजारका केही खण्ड सडक ढलान गरिए, दिक्तेल कम्पोष्ट मल प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्र बनाइए, दिक्तेलबजारको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क, बगरे भञ्ज्याङमा पेन टावर र पिकनिक स्थल, भुलभुले र साप्सुधाप पर्यटन प्रवद्र्धन लगायतका देखिने काम भए ।

१५ मध्ये ११ वडामा वडा कार्यालय, ७७ वटा विद्यालय भवन निर्माण, प्रशुती केन्द्र स्थापना, रक्त सञ्चार भवन निर्माण तथा सञ्चालन लगायतका काम भए । कृषि र बजारको माध्यमबाट जनतालाई रोजगारी दिलाउने प्रयासहरु भए । यद्यपी नगरमा गौरवका कैयौं योजना र सपना अधुरा छन् । त्यही अधुरो कामलाई पूर्णता दिने लक्ष्यका साथ बिणादेबी पुःन उपप्रमुखको चुनावी दौडमा हुनुहुन्छ ।

विशेषगरी पाँच वर्षको अवधिमा नगरमा विकासको जग बसाल्ने काम भए । स्थानीय सरकार चल्ने चलाउने ‘सिस्टम’को सुरुवात गरिए जसका कारण कतिपय योजनाको रिजल्ट तत्काल नभएर भविष्यमा हात पर्ने राई बताउनुहुन्छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७५.१८ अंकसहित प्रदेश १ मा पहिलो र ७५३ स्थानीय तहमध्ये ८ औं स्थानमा पर्न सफल भएको छ ।

नगरको बजेटले सकेसम्म इमान्दारिताका साथ काम गरेका छौँ । नगरको केही गौरवको आयोजनाहरु र कामहरु बाँकी छन्, त्यही काम र सपनाहरु पूरा गर्ने लक्ष्यसहित म उपमेयरमा दोहोरिन उम्मेदवार बनेको हुँ,’ राई भन्नुहुन्छ्, ‘अन्तिमसम्म मेरो दाबी मेयरमा थियो । तर पार्टीले एक पटकका लागि उपमयरमै बसेर काम गर्न आग्रह गरेपछि पुःन उपप्रमुखको उम्मेदवार बनेकी हुँ ।’

को हुन् बिणादेवी ?
बिणादेवीको उपमेयर कार्यकालमा नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालनमा थियो । नगरभित्रका महिलाको सशक्तीकरण गर्दै कृषि तथा अन्य व्यवसायीक कार्यक्रमको माध्यमबाट स्वरोजगार र आत्मनिर्भर बनाउने थुप्रै कामहरु भए । गहन अध्ययन, निर्णय क्षमता र जुनसुकै कामलाई निष्ठा र इमान्दारिताका साथ सम्पन्न गर्ने स्वभावका कारण उहाँलाई जिल्लामा अव्वल नेतृका रुपमा चिन्ने चिनाउने गरिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका बुवा टंकबहादुर राई र आमा पवित्रा राईको कोखबाट २०४१ साल कात्तिक १५ गते बिणादेबीको जन्म भएको हो । चम्पावती माबिमा कक्षा ७ मा पढ्दादेखि नै उहाँ प्रगतीशिल गीतहरुमा गाउने र नाच्ने गर्नुहुन्थ्यो । बाल्यकालमै एमालेको विभिन्न कार्यक्रममा साँस्कृतिक प्रस्तुती गर्ने भरथेग बन्नुभयो । एसएलसी उत्तिर्ण गरेपछि बिणादेवी जनसाँस्कृतिक मञ्चले आयोजना गरेको तीन महिने तालिमका लागि काठमाडौं पुग्नुभयो । तालिमपछि जिल्ला फर्किएर औपचारिक रुपमा जनसाँस्कृतिक मञ्च र अनेरास्वबियुबाट राजनीतिमा यात्रा थाल्नुभयो ।

बिणादेवीले दिक्तेल बहुमुखी क्याम्पसबाट आइए उत्तिर्ण गर्नुभएको छ । रत्नराज्य क्याम्पस काठमाडौबाट बि.ए. पास गर्नुभएकी राई अहिले एम. ए. अध्ययनरत हुनुहुन्छ । उहाँसँग पत्रकारिता गरेको अनुभव पनि छ । उहाँ प्रेस चौतारी नेपाल खोटाङको संस्थापक सदस्य हुनुहुन्छ । पत्रकारिता गरिरहेकै बेला उहाँको २०५८ सालमा पत्रकार किसनचन्द्र राईसँग जनवादी बिवाह भएको थियो । किसनचन्द्र त्यो बेला भावना साप्ताहिक प्रकाशन गर्नुहुन्थ्यो ।

जिल्लामा चर्चित साप्ताहिक थियो भावना । तर राजाले ‘कु’ गरेपछि भावना साप्ताहिक बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । राज्य र बिद्रोही पक्षको चेपुवामा पर्दैगए पछि छोरी काखमा च्यापेर श्रीमानसहित काठमाडौ जान उहाँ बाध्य हुनुभयो । तर पार्टीमा काम गरेका कारण काठमाडौंमा बस्न र टिक्न असहज भएन । केही समयपछि नै एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको सदस्यको जिम्मेवारी बहन गर्न थाल्नुभयो । सम्पर्क मञ्चको कोषाध्यक्ष, तत्कालिन सगरमाथा सञ्चलको सदस्य, महिला बिभाग प्रमुख लगायतका जिम्मेवारी कुशलतापुर्व निर्वाह गर्दा उहाँलाई राजनीतिको यात्रा शिखरतर्फ बढायो ।

पार्टीको अलवा बिणादेवीको सामाजिक संघसंस्थामा पनि उत्तिकै दर्विलो उपस्थिति थियो । खोटाङ सेवा समाजको कोषाध्यक्ष, किरात राई यायोक्खा काठमाडौंको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यदेखि सह–कोषाध्यक्षसम्मको जिम्मेवारी पूरा गर्नुभयो । राजनीतिक दायरालाई थप फराकिलो बनाउन २०७० सालदेखि उहाँ राजनीतिमा थप क्रियाशील बन्नुभयो ।

पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारपुर्वक पूरा गर्ने बिणादेवी हाल एमाले खोटाङको जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य हुनुहुन्छ । समावेशी अधिकार प्राप्तिका लागि राईको योगदान अतुलनीय छ । समाज रुपान्तरणका लागि उहाँले खेलेको भूमिकाका कारण नेपाली राजनीतिमा उहाँ पूर्ण चन्द्र जस्तै चम्किने नक्षत्र हुनुहुन्छ । उहाँलाई थप राजनीतिक भविष्यका लागि शुभकामना !

तपाईको प्रतिक्रिया