खोटाङ । अधिकांशको लक्ष्य जीवनमा स्थायी जागीर खाने हुन्छ । स्थायी जागीरे बन्ने दौडमा संघर्ष गर्दै-जाँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडेन्द्र राई पनि स्थायी शिक्षक बन्न सफल भए । तर उनी जीवनभर स्थायी जागीरेका रुपमा मात्र रहन चाहेनन् । स्थायी शिक्षकको जागीर छाडेर उनी नेकपा एमालेको पूर्णकालिन राजनीतिमा होमिए ।
तिनै खडेन्द्रलाई एमालेले अहिले हलेसी तुवाचुङ नगरपालिकाको मेयरको उम्मेदवार उठाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेले उनलाई नै मेयरको टिकट दिएको थियो । तर उनी कांग्रेसका इवन राईसँग पराजित भएका थिए ।
दोश्रोपल्ट मेयरको टिकट हात लागेसँगै उनी चुनावी दौडमा व्यस्त छन् । मतदाताको घरदैलो र मेलापातमा पुगिरहेका छन्
जागीरका सिलसिलामा खडेन्द्रले दुधकोसी प्रावि बाहुनीडाँडा, दोर्पा, हलेसी महादेवस्थानको डाँडागुठ हुँदै आफ्नै गाउँको दामोदर महासिं प्रावि दुर्छिममा पुगेर पढाए ।
दामोदर महासिं प्राविमा पढाइरहेकै बेला उनी २०५८ सालमा एमालेको जिल्ला कमिटि सदस्य बने । केही समय उनले जागीर र राजनीतिलाई सँगै अगाढि बढाए तर पदीय हिसावले उनीमाथि शिक्षणमा रहने वा जागीर छाड्ने नैतिक संकट सिर्जना भयो ।
राजनीतिमा सम्भावना छ भन्दै राजनीतिप्रति हौस्याए । अन्ततः उनले २०६१ सालमा स्थायी शिक्षकको जागीर छाडेर राजनीतिमा होलटाइमर बन्ने निर्णय लिन पुगेका हुन् । स्थायी जागीर छाडेपछि परिवारको आर्थिक संकट टार्न उनी ठेक्कापट्टा गर्न समेत अघि सर्नुपर्ने अवस्थामा पुगे । व्यवसायीक कृषिमा लागे । उनको व्यवसायीक कृषि कर्म त अहिले पनि चलिरहेकै छ ।
२०३८ सालमा अखिल पाँचौबाट राजनीति सुरु गरेका खडेन्द्रले २०४८ सालमा कम्युनिष्ट पार्टिको संगठित सदस्यता लिएका थिए । शिक्षण पेशा अपनाइरहेकै बेला २०४८ मा गाउँ कमिटि सदस्य, २०५४ मा गाउँ कमिटी सचिव, २०५५ मा ६ नम्बर ईलाका सचिव, २०५८ सालमा जिल्ला कमिटी सदस्य, २०५९ सालमा सचिवालय सदस्य हुँदै २०६३ सालमा उप–सचिबको जिम्मेवारीमा पुगे ।
तर उपसचिव बनेको ६ महिनापछि नै उनले पद त्याग गर्नुपर्ने अवस्था आयो । जिल्लामा एमाले र नेकपा एकीकृत एकीकरण हुँदा एकीकृतबाट आएका बबी चाम्लिङलाई उप–सचिब छाड्नुपर्ने अवस्था आएपछि उनी सचिवालय सदस्य बनेर पार्टीको काममा सक्रिया बने । लामो समयसम्म सचिवालय सदस्यदेखि संगठन बिभाग प्रमुखको नेतृत्व सम्हालिसकेका उनी हाल प्रदेश कमिटि सदस्य छन् ।
बुवा बक्तबहादुर र आमा जनलवी राईको कोखबाट २०२२ मंसिर १४ गते खडेन्द्रको अन्तरे छोराको रुपमा जन्म भएको हो । सामान्य परिवारमा जन्मिएका उनलाई परिवारमै कम्यूनिष्ट बुझ्ने र चिन्ने वाताबरण मिल्यो । त्यही बुझाईले उनलाई जीवनभर कम्यूनिष्ट बन्ने बाटोमा डो¥याएको हो । दामोदर महासिंह प्राविबाट प्राथमिक तहको अध्ययन सुरु गरेका उनले २०४० सालमा दुर्छिम माविबाट एसएलसी र २०४८ सालमा दिक्तेल बुहुमुखी क्याम्पसबाट आईए उत्तिर्ण गरेका थिए । उनी कार्यकर्तामाझ असल र ईमान्दार नेताका रुपमा परिचित छन् । सादा जीबन उच्च विचारमा बिश्वास गर्छन् । सामान्य जिबनशैली अपनाउछन् ।
यस कारण खडेन्द्रलाई भोट
मेयरमा निर्वाचि भएर ‘समृद्ध हलेसी, सुखी हलेसीबासी’को सपना पुरा गर्ने खडेन्द्रको अठोट छ । पुर्वको पशुपतिनाथ मानिने त्रि–धार्मिकस्थल हलेसीको विकास समितिको अध्यक्ष भएर काम गरिसकेका कारण उनीसँग हलेसीको सर्वाङ्गीण विकास गर्ने प्रष्ट ‘भिजन’ छ । मेयरमा निर्वाचित भए नगरको संमृद्धि र परिवर्तन गर्ने योजना सहित चुनावी मैदानमा उत्रिएको राई बताउँछन् ।
‘जयरामदेखि विजुलेसम्म मध्यपहाडी राजमार्गले छोएको हलेसीलाई बिकास गर्न धेरै समय लाग्दैन,’ उनी भन्छन्, ‘मेयरमा निर्वाचित भएँभने प्रथम तः म स्थानीयलाई रोजगार दिने किसिमका योजना कार्यान्वयन गर्नेछु ।’ नगरमा एमाले र माओवादीबिचमा चुनावी गठबन्धन भएकाले आफ्नो विजय निश्चित भएको राईको दावी छ । तर यसका लागि ३० बैसाखसम्म पर्खनुपर्ने हुन्छ ।