जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

Halesi Khabar
0 Shares

खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उप प्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उप प्रमुखमा नेपाली काँग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो ।

प्रमुखमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उप प्रमुखमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभएको छ । उनीहरुका निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका शङ्खरबहादुर राईले दुई हजार ५७५ मत र उप प्रमुखका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत प्राप्त गर्नुभएको छ ।

वि. सं. २०७४ सालमा भएको निर्वाचनमा अरुणादेवी माओवादी केन्द्र र खड्का काँग्रेसबाट प्रमुखमा उम्मेदवार रहनुभएको थियो । यस वर्षको निर्वाचनमा सत्ता गठबन्धनले प्रमुख र उप प्रमुख तथा पाँच वडाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । वि.सं. २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका शंखबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा रहनेगरी उम्मेदवार बनाएको हो ।

जन्तेढुङ्गा गाउँपालिकाका ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यइक्षमा विजयी हुनुभएको हो ।

गठबन्धनबाट वडा नं.–१ देविस्थानमा माओवादी केन्द्रका केदारमान राई, वडा नं.–२ बोपुङमा माओवादी केन्द्रकै मस्तबहादुर राई, वडा नं.–३ काहुलेमा काँग्रेसका तारामान राई, वडा नं.–५ चिसापानीमा काँग्रेसका धनबहादुर राई र वडा नं.–६ दिप्लुङमा काँग्रेसका सागर राई वडाध्यक्षमा विजयी हुनुभएको छ । जन्तेढुङ्गा गाउँपालिकामा एमाले एक्लै तथा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको थियो ।

दश हजार २१३ जना मतदाता रहेको यस गाउँपालिकामा वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा पाँच हजार ९७८ मत खसेको थियो । पुरुष तीन हजार २६ जना र महिला दुई हजार ९५२ जनाले मतदान गरेको यस गाउँपालिकामा कुल मतदाताको ५८ दशमलव ५३ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया