खोटाङ, २ जेठ । साकेला गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउदै राई प्रमुखमा निर्वाचित हुनुभएको हो ।
राईले एक हजार ८५० मत ल्याएर प्रमुखमा विजयी हुँदा निकटतम् प्रतिस्पर्धी खड्काले एक हजार ७७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राजन नेपालले जानकारी दिनुभयो । निवर्तमान प्रमुख खड्का वि.सं. २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
प्रमुख पदका अर्का प्रत्यासी नेकपा (एमाले)का गोपी खड्काले ९६७ मतमात्र ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा भने दुई हजार १२ मत ल्याएर माओवादी केन्द्रका बिर्सिका राई विजयी हुनुभएको छ ।
नवनिर्वाचित उपप्रमुख राईको निकटतम् प्रतिस्पर्धी काँग्रेसकी सरिता खड्काले एक हजार २२४, एमालेको दिलकुमारी राईले ९८६ र जनता समाजवादीका जयकुमार राईले २१४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पराजित खड्का २०७४ सालको निर्वाचनमा काँग्रेसबाट उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
पाँच वडामात्र रहेको जिल्लाकै सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकामा काँग्रेस र माओवादी दुई÷दुई तथा एमाले एउटा वडामा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं. १ बाझेच्यानडाँडामा काँग्रेसका हेमन राई, वडा नं. २ रतन्छामा एमालेका जितेन राई, वडा नं. ३ खिदिमामा माओवादी केन्द्रका गोविन्द तामाङ, वडा नं.४ मात्तिममा माओवादी केन्द्रका अर्जुन कटवाल र वडा नं. ५ मात्तिमबिर्तामा काँग्रेसका जीवन खत्री वडाध्यक्षमा विजयी हुनुभएको छ ।