काठमाडौं । चुनावी प्रतिशोध लाई लिएर मरणाशन्न हुने गरी कुटपिट गरेकाे आरोपमा नेकपा माओवादी (केन्द्र) केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता भएको छ ।
जेठ ११ गते राति खोटाङको जालपा स्थित वाक्सिला दुमि होटलमा एमाले वडा कमिटी सदस्य पूर्णबहादुर राईलाइ माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष समेत रहनुभएका टंक राईको टोलीले कुटपिट गरि गम्भीर घाईते बनाएकोमा ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता भएको हो ।
घाइतेका आफन्त डीवी राईले उहाँहरुविरुद्ध मुद्धा किटानी जाहेरी दिनुभएको छ ।
कुटपिटमा संलग्न टंक राई, अम्बिका राई, धनिराम राई, पदम बिक र विबेक राई लगायत ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (प्रहरी नायव उपरीक्षक) उमेश लम्सालले जानकारी दिनु भयाे । उहाँले किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न कानूनी प्रक्रिया सुरु गरेको बताउनुभयो ।
यसअघि नेकपा (एमाले) खोटाङले चुनावको प्रतिशोधलाई लिएर आफ्ना कार्यकर्ता माथि माओवादी नेताकै संलग्नतामा निर्घात कुटपिट भएको भन्दै तत्काल कानूनी कारबाहीको माग गरेको थियो । घाईते राईको उपचार जिल्ला अस्पताल दिक्तेलमा हुन नसकेर काठमाडौं ल्याइएको छ । घाइतेको काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।