मोटरसाइकलको ठक्करबाट राप्रपाका निवर्तमान अध्यक्ष श्रेष्ठ गम्भीर घाइते

Halesi Khabar
0 Shares

खोटाङ, २० जेठ । मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले आज (शुक्रबार) दिउँसो ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते हुनुभएको हो ।

दिक्तेलको रत्नपार्कस्थित किराँतचोकबाट बेसक्याम्पर्फ जाँदै गरेको उक्त मोटरसाइकलले सडकबीचमा ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभएको छ । प्रनाउ लम्सालका अनुसार श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ ढलान गरिएको सडकमा ढलेर बेहोस हुनुभएको थियो । श्रेष्ठसँगै सोही मोटरसाइकलमा सवार लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई पनि घाइते हुनुभएको छ ।

मोटरसाइकल दुर्घटनाका घाइते दुवैजनालाई दिक्तेलस्थित फेमिली कियर अस्पतालमा उपचार सम्भवन नभएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था गम्भीर रहेको र राईको सामान्य हुँदै गएको आफन्तले बताएका छन् ।

दुर्घटना लगत्तै मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक अभिषेक दुर्घटनामा घाइते विष्णुमायाका छोरा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तैदेखि अचेत अवस्थामा रहनुभएका श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्रपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएको थियो । जिल्लामा भ्रष्टाचार विरोधी नेताका रुपमा चिनिनुहुने नेता श्रेष्ठले गत निर्वाचनमा ४०५ मत प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया