खोटाङ, २२ जेठ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थान र वडा नं. ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत साकेला सिली प्रदर्शन गरिएको छ । किराँत समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी)मार्फत चुला पूजा गर्नुका साथै बृहत साकेला सिली प्रदर्शन गरिएको हो ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने तुवाचुङ जायजुममा आयोजना गरिएको चुला पूजा तथा साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत जिल्लाका किराँत राई समुदाय भेला भएर सामुहिक रुपमा चुला पूजा गर्दै साकेला नाचेका छन् । नगर प्रमुख विमला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साकेला सिली प्रदर्शनी गर्न विभिन्न स्थानका १५ समूह सहभागी भएको तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाईमा पर्ने पर्यटकीयस्थल तुवाचुङ जायजुममा आयोजित कार्यक्रममा किराँत राई समुदायको परम्परागत भेषभुषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि तुवाचुङ जायजुममा शनिबार चुला पूजा गर्दै साकेला नाचिएको हो ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ जायजुममा प्राकृतिकरुपमा रहेका रैछाकुलेको ढुङ्गाको मुर्ती र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ । किराँत ऐतिहासिकस्थल सो क्षेत्रलाई संरक्षण गर्न तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा गरिद गरेर ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ ।
तुवाचुङ जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि वि.सं. २०७४ मङ्सिर–२ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किराँत राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीनजना किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराँती र गैंरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।
तुवाचुङ जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलीङ, भुटान लगायतका किराँत समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्य अन्तरगत मन्दुमट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ जायजुममा किराँती सभ्यताको अध्ययन तथा अवलन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
किराँत राई समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको शुरुवात गरेको किंवदन्ती बोकेको स्थलको रुपमा चिनिने तुवाचुङ जायजुममा हरेक वर्षको वैशाख पूर्णीमा र मङ्सिर पूर्णीमाको अवसरमा एक÷एक पटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर तीन चुला पूजा अर्थात प्रकृतिको पूजा गरिएको हो ।
साकेला उँभौली ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ ।
साकेला उँधौलीमा ‘अन्नबालीको सह बसोस्, अनिकाल नलागोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा शुरु गरिने साकेला उँधौलीको पन्ध्र दिनसम्म उनाउने गरिन्छ ।
यसैबीच, साकेला उँभौली चाडको अवसर पारेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अहिले हरेक दिन साकेला सिली प्रदर्शन भइरहेको छ । हरेक वर्षको दुई पटक मनाइने साकेला चाड अन्तरगत उँभौलीको अवसर पारेर आफन्तजनसँग भेटघाट गर्नुका साथै शुभकामना आदान÷प्रदान गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको आयोजक किराँत राई यायोख्खाले जनाएको छ ।
उँभौली चाडको शुरुवाती दिन अर्थात जेठ(२ गते मझुवागढीबाट शुरु भएको साकेला सिली पदर्शनी तथा शुभकामना आदान÷प्रदान कार्यक्रम यहि जेठ २८ गते शनिबार औपचारिक रुपमा समापन गरिने आयोजकले जनाएको छ । दिक्तेलको माटीकोरे खेलमैदानमा आयोजना गरिने समापन कार्यक्रममा बृहत साकेला सिली प्रदर्शन गरिने जनाइएको छ ।
उँभौली चाड समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई निम्तो दिइएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा सहभागी अतिथिलिाई समेत साकेला सिली नाच्न लगाएर मनोरञ्जन दिलाइने आयोजकले जनाएको छ ।