भ्रष्टाचार र अनियमितता बिरोधी नेता श्रेष्ठ हामीमाझ रहनुभएन !

Halesi Khabar
0 Shares

खोटाङ, २२ जेठ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि गत शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बन्नुभएका नेता श्रेष्ठको उपचारको क्रममा आज (आइतबार) काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पु¥याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि आज मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रविन चाम्लिङले जानकारी दिनुभयो । अस्पतालले नेता श्रेष्ठलाई मृत घोषणा गरेपछि आजै दिउसो तीन बजे काठमाडौँस्थित पशुपति आर्यघाटमा लगेर दाह सँस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता श्रेष्ठलाई दिक्तेल बजारस्थित किराँतचोकबाट पुरानो बेसक्याम्पतर्फ जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो । पछाडिबाट तीव्रगतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढल्नुभएका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा जिल्लामा उपचार नभएपछि थप उपचारका लागि चिन्ताजनक अवस्थामा काठमाडौँस्थित अस्पताल लगिएको हो ।

भ्रष्टाचार तथा अनियमितताको बिरोधी एवम् प्रष्ट वक्ताका रुपमा चिनिने नेता श्रेष्ठ राप्रपा खोटाङका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्ष हुनुभएका नेता श्रेष्ठ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएको थियो ।

नेता श्रेष्ठले गत निर्वाचनमा ४०५ मत प्राप्त गर्नुभएको थियो । उक्त मोटरसाइकल दुर्घटनामा सोही मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकां.–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते हुनुभएको छ ।

दुर्घटना लगत्तै हेलिकोप्टरमा श्रेष्ठसँगै काठमाडौँ पठाइएकी राईको पनि न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत घाइते राईको अवस्था सामान्य हुँदै गएको आफन्तले बताएका छन् ।

दुर्घटना लगत्तै मोटरसाइकल चालक सोही नगरपालिका–५ लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक अभिषेक घाइते विष्णुकुमारीको छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका अभिषेकको सवारी चालक अनुमतिपत्रसमेत नरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते नेता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि प्रहरी नियन्त्रणमा रहेका अभिषेकविरुद्ध मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । मृतक श्रेष्ठको पार्थिव शरीरमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले दिउसो तीन बजे आर्यघाट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुहुने जनाइएको छ ।

मृतक नेता श्रेष्ठको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । मृतक नेता श्रेष्ठको दाजु नरेशकुमार श्रेष्ठ नेपाली काँग्रेस खोटाङका निवर्तमान जिल्ला सभापति एवम् महासमिति सदस्य हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया