ललितपुर, नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागेपनि मुलुक निर्माणका लागि काम नलाग्ने स्पष्ट पारेका छन् । एमाले पार्टी मुख्यालय ललितपुरमा सहकारी तथा गरिवी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन गरेर चुनाव जितिए पनि देश नबन्ने बताएका हुन् । गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको कुरा हो, हाम्रै देशमा हेर्ने हो भने पनि एमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट हुने उनको भनाइ थियो । विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिट्यान्स लगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताए । ‘एमाले भित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ, चुनाव जित्नका लागि गठबन्धन ठिक भएपनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन, महासचिव पोखरेलले भने,‘मुलुक निर्माणका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु पर्दछ ।’ राष्ट्रिय शक्ति बन्ने अवसरबाट कांग्रेस चुकेको भन्दै पोखरेलले स्थानीय तह निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरी त्यसका कमीकमजोरीलाई सच्याउदै एमालेलाई शसक्त र बलियो शक्तिका रुपमा स्थापित गर्न पार्टीको सिंगो पंक्ति जुट्नु पर्नेमा उनले जोड दिए । ‘एमालेलाई मत दिने जनता बढेका छन्, महागठबन्धन, आन्तरिक व्यवस्थापन सुधार गर्न नसक्नु, राज्यकातर्फबाट भएको ज्यादती, पैसाको बढी चलखेल जस्ता कारणले सीट संख्यामा केही कमी भएपनि समग्र लोकप्रिय मतमा एमाले कमजोर छैन, उनले भने । संकल्पका साथ अगाडि बढेर पार्टीका हरेक व्यक्तिको मनमा मुलुक निर्माणको सोच हुनुपर्ने बताए । ‘त्यो सोचलाई पूरा गर्नका लागि कटिवद्ध भएर लाग्नुको विकल्प छैन,ु उनले भने । हारको मानसिकता लिएर सफल नभइने भन्दै सफलतातर्फ उन्मुख हुन सक्नुपर्ने बताए । समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि नेपालको संविधानले तीनखम्बे अर्थनीति अंगिकार गरेको उनले बताए । महासचिव पोखरेलले पुजिवादीले सहकारी क्षेत्रलाई प्राथमिकता नदिएको बताए । सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यम हो, यसको प्रभावकारी परिचालनबाट गरिवी निवारणमा योगदान गर्न सकिन्छ’ उनले भने ।