आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।
‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक निर्वाचन आयुक्तले भने ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि आयोगले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको जानकारी दिए ।
यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ ।
आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ । त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।
यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सो’मा भने कसरी जाने निर्णय गरिसकेको छैन ।
आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नामावली दर्ता खुला गर्ने भएको हो । आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।
आयोगले सरकारबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारबाट मिति तोकिए सम्भवतः तीनदेखि चार सातासम्म नामावली दर्ता खुला रहन सक्छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।