काठमाडौँ, २३ जेठ । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको समाचार स्रोतले जानकारी दिएको छ ।
जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । तर, एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो । यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए ।
कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । आजैमात्र आइतबार पनि बिदा दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।