निर्वाचनमा अन्तरघात गरेको भन्दै काँग्रेस प्रदेश महामन्त्री राईबिरुद्ध उजुरी

Halesi Khabar
0 Shares

खोटाङ, २४ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्रकुमार राईसहित चार जना नेताबिरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । निर्वाचनमा महामन्त्री राईको गृह पालिका दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दै महामन्त्री राई, काँग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, काँग्रेस प्रदेश (ख)का सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका पार्टी सभापति रामचन्द्र राईविरुद्ध काँग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।

चार नेता बिरुद्ध काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएका नइन्द्र राई, उपप्रमुखका उम्मेदवार रमा कटवालसहित सातवटै वडाका वडाध्यक्षका उम्मेदवारले कारबाहीका लागि अनुशासन समितिमा उजुरी दिएका छन् । पराजित उम्मेदवारहरुले नेपाली काँग्रेसको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।

अनुशासन समितिका जिल्ला संयोजक एवम् सचिव ज्ञानेन्द्र जोशीले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार उठे÷नउठेको तथा आधिकारिक उम्मेदवारको विरुद्ध अन्तरघात हुने काम कारबाही भए÷नभएको प्रतिबेदन पेश गर्न यही जेठ १३ गते पठाउनुभएको पत्र अनुशार अन्तरघात गर्ने र विपक्षी दलका उम्मेदवारलाई जिताउन भूमिका खेलेका कारण चार नेताविरुद्ध उजुरी दिइएको गाउँपालिका प्रमुखका उम्मेदवार राईले बताउनुभएको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वयम् महामन्त्री राई गाउँपालिका प्रमुख तथा काँग्रेसकै सपना राई उपप्रमुखमा विजयी हुनुभएको उक्त गाउँपालिकामा यसपटकको निर्वाचनमा नेकपा (एमाले)का लोकेन्द्र राई प्रमुख र एमालेकै अरुणा थापामगर उपप्रमुखमा विजय हुनुभएपछि महामन्त्री राईमाथि अन्तरघातको आक्षेप लागेको हो ।

महामन्त्री राईमाथि आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमालेका नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भङ्गगरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको, गुट खडा गरी अन्तरघात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिबेसनको नकरात्मक विषयवस्तु बारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काउँदै अन्तरघात गराएको, पार्टीको चुनावीसभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ती दिएको लगायतका क्रियाकलाप गरेको आरोप लगाइएको छ ।

यस्तै, सभापति गिरीमाथि आधिकारिक उम्मेदवार विरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई निष्कृय गरेको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसी गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, विपक्षी पार्टीका उम्मेदवारलाई लाभ हुनेगरी विवादास्पद अभिव्यक्ति दिएको, आधिकारिक उम्मेदवार विरुद्ध बितृष्ण फैलाएको, पार्टी नेतृत्वको आलोचना गरेको लगायतका आरोप लागेको छ । महामन्त्री राईको गृह पालिकामा आफ्ना पार्टीका प्रमुख र उप्रमुखसहित चारजना वडाध्यक्षका उम्मेदवारहरु पराजित भएपछि महामन्त्री राईमाथि नैतिक प्रश्न खडा भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनाव लडेका थिए । सातवटा वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा यस वर्षको निर्वाचनमा चार वडामा एमाले र तीन वडामा काँग्रेस विजयी भएको छ ।

अघिल्लो निर्वाचनमा उक्त गाउँपालिकाको प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष काँग्रेसले जित्नुका साथै एकल बहुमतमा कार्यपालिका गठन गरेको थियो । यस वर्षको निर्वाचनमा एमालेले गाउँपालिका प्रमुख, उपप्रमुख तथा चार वडाध्यक्ष जितेसँगै एकल बहुमतमा कार्यपालिकासमेत गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया