यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान, बेलामै सजग हुन आग्रह

Halesi Khabar
0 Shares

काठमाडौँ, २६ जेठ । मौसमविद्हरुले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

यस वर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ ।

जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुको आँकलन छ ।

त्यस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताउनुभयो । उहाँले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताए । घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले बताउनुभएको छ ।

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रुपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताउनुभयो । उहाँले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरुमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसमा पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया