काठमाडौँ, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद ब्युँतिएको छ । स्थानीय चुनावसम्मका लागि थाती राखिएको विवाद फेरि बाहिर आएको हो ।
पार्टीभित्रका विवाद मिलाउन असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो तर त्यो अधिवेशन हुने कि नहुने भन्नेमै अन्योल देखेपछि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । जसपाको अन्तरिम विधानमा दुई जना अध्यक्ष रहने प्रावधान राखिएको छ ।
विधान अनुसार दुई जना अध्यक्ष राख्नु प¥यो या यसलाई संशोधन गर्नुप¥यो भनेर आवाज उठेपछि जसपामा एक जना अध्यक्षमात्र राख्ने गरी विधान संशोधन गर्न विधान अधिवेशन गर्ने निर्णय भएको थियो । तर, विधान अधिवेशन नै हुने छाँटकाँट देखिएको छैन ।
अध्यक्ष भट्टराई पक्षले पार्टीमा दुई जना अध्यक्ष रहनुपर्ने तर्क गर्दै आएको छ भने जसपा अध्यक्ष उपेन्द्र यादव एक जना अध्यक्षको पक्षमा रहनुभएको छ । विधानमा रहेको दुई अध्यात्मक प्रणालीलाई संशोधन गर्न विधान अधिवेशन आयोजना गर्ने भनिए पनि अधिवेशन नै अन्योलमा परेको छ ।
चुनावअघि जसपाभित्र नेतृत्व तथा सङ्गठन संरचना लगायतको विषयमा विवाद उत्पन्न भएको थियो । जसपाको अन्तरिम विधानमा उल्लेख भए अनुसार दुई जना अध्यक्ष हुनुपर्ने माग पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गर्नुभएको थियो ।
पार्टीमा कुनै पनि निर्णय सामूहिक नेतृत्वबाट हुनुपर्ने साथै बैठकहरू पनि विधानअनुसार हुनुपर्ने माग बाबुराम भट्टराईको थियो । अध्यक्ष भट्टराई पक्षले आफ्ना माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले पार्टीभित्र हस्ताक्षर अभियानसमेत चलाउनुभएको थियो ।
अध्यक्ष भट्टराई पक्षले बहुमत सदस्यको हस्ताक्षर संकलन गरिसकेपछि त्यसको दबाबमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाउनुभएको थियो । अध्यक्ष यादवले पार्टीमा अर्को अध्यक्ष नथप्ने तर, पार्टीमा सामूहिक निर्णय गर्ने पद्धति संस्थागत गर्न अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वाटर निर्माण गर्नुभएको छ ।
पार्टीको कुनै पनि निर्णय यी तीन जनाको सहमतिमा हुने भनिएको थियो । स्थानीय तहको चुनावका लागि वितरण गर्ने मनोनयन पत्र (टिकट) मा हस्ताक्षर गर्ने जिम्मेवारी वरिष्ठ नेता अशोक राईलाई दिइएको थियो । बाँकी विषय चुनावपछि पार्टीमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको थियो ।
तर अध्यक्ष यादवले पार्टीको बैठक बोलाउनुभएको छैन । त्यही बैठक बोलाउन अध्यक्ष भट्टराई पक्षका नेताहरुले माग गर्न थालेका छन् । अध्यक्ष भट्टराई पक्षका नेताहरुले पार्टीमा सामूहिक निर्णय गर्ने सहमति भए पनि अध्यक्ष यादवले स्थानीय चुनावदेखि पार्टीका अन्य गतिविधिमा एकलौटी गरेको आरोप लगाएका छन् ।