खानेपानीलाई प्राथमिकतामा राखेर प्रदेश १ का सबै जिल्लामा समानुपातिक वजेट ल्याउने मन्त्री राईकाे भनाई

Halesi Khabar
0 Shares

ओखलढुंगा । प्रदेश १ का खानेपानी सिंचाइ तथा उर्जा मन्त्री रामकुमार राईले खानेपानीको क्षेत्रमा प्रदेश १ ले प्राथमिकताका साथ बजेट ल्याउने बताएका छन् ।

शुक्रबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाको नवनिर्मित भवनको उद्घाटन् कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेशका जिल्लाहरुमा अझै पनि खानेपानीको समस्या रहेकाले ति समस्या समाधानका लागि प्रदेशले प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/८० को बजेट ल्याउने बताएका हुन् ।                                                                खानेपानी नागरिकको जीवनका लागि प्रमुख आवस्यक्ता भएकोले प्रदेश सरकार यस प्रति गम्भीर रहेको मन्त्री राईको भनाई थियो । जिल्लामा सुविधासम्पन्न र आकर्षक भवन बनेकोमा बधाई दिदैँ उनले समावेशी र पारदर्शी रुपमा काम गर्न निर्देशन दिएका छन् ।    कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख मोतिउर रहमानले जिल्लाका सबै नागरिकलाई सहज र शुद्ध खानेपानीको सुविधा दिलाउन कार्यालय सधैँ जुटिरहेको बताए ।                                                                         नवनिर्मित भवनबाट कार्यसम्पादनमा थप सहज हुने उनको भनाई थियो । कार्यक्रममा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिक्देलले जिल्लामा खानेपानीको समस्या क्रमिक रुपले समाधान हुदै जानु सकारात्मक भएको बताइन् ।

खानेपानी अभावको समस्या झेलिरहेका जिल्लाका नागरिकलाई खानेपानीको पहुँच विस्तारमा कार्यालयले सरोकारवाला क्षेत्रहरुसँगको समन्वयमा काम गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा मन्त्री राई सहित, सहायक प्रमुख जिल्ला अधिकारी सिग्देल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगा प्रमुख रहमान, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाको सहभागिता थियो । भिजन समाचार बाट

तपाईको प्रतिक्रिया