खोटाङ, २८ जेठ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उँभौली चाड विधिवतरुपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार बृहत साकेला सिली प्रदर्शन गरेर औपचारिक रुपमा साकेला उँभौली चाड समापन गरिएको हो ।
किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्त रुपमा शनिबार आयोजना गरेको बृहत साकेला सिली प्रदर्शनमी विभिन्न स्थानका ११ समूह सहभागी थिए । साकेला उँभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमी, पितृ र अन्नको पूजाआजा गरेर साकेला उँभौली चाड मनाउने गरेका छन् ।
साकेला उँभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवम् पर्यटकीयस्थल मझुवागढीमा भूमी अर्थात चुलाको औपचारिक पूजा गरेर शुरु हुने र माटीकोरे खेलमैदानमा बृहत साकेला सिली प्रदर्शन समापन गर्नेे चलन छ । साकेला उँभौली चाडको अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।
अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमादेखि महिनादिनसम्म उँभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णीमादेखि १५ दिनसम्म साकेला उँधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिनुभयो । साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानव जातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गरिन्छ ।
साकेला चाड र साकेला सिलीको शुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु रहेका छन् ।
यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन् । साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।
साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”
साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडको रुपमा मनाउने गरेका छन् । माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैंर किराँत समुदायले समेत मनाउन थालेका छन् ।
बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।