जिल्ला समन्वय समिति खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी

Halesi Khabar
0 Shares

खोटाङ, ३० जेठ । जिल्ला समन्वय समिति खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का सनबहादुर राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का सुरेशकुमार तामाङ विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रमुखमा विजयी राई र उपप्रमुखमा विजयी तामाङले १६÷१६ मत प्राप्त गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार बन्नुभएका किशोरकुमार श्रेष्ठले चार र उपप्रमुखका उम्मेदवार सन्तोष राईले चार मतमात्र प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिनुभयो ।

प्रमुख र उपप्रमुखसहित नौँ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु निर्विरोध विजयी भएका छन् । निर्विरोध निर्वाचित हुनेमा खुला सदस्य काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा काँग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा (एकीकृत समाजवादी)की दिलकमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा विजयी हुनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रमुख र उपप्रमुख बाहेक अन्य सातजना सदस्यको पदमा उम्मेदवारी दर्ता गराएको थिएन । एमालेसँग चार तथा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलको पक्षमा १६ मत रहेको थियो ।

वि.सं. २०७४ सालमा भएको निर्वाचनमा एमाले एक्लैले पाँच स्थानीय तहसहित जिल्ला समन्वय समिति कब्जा गरेको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार दश स्थानीय तह रहेको खोटाङमा एमाले दुई पालिका प्रमुख, दुई उपप्रमुख तथा १९ वडाध्यक्षमा सिमित भएको छ ।

अघिल्लो निर्वाचनमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ । यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो ।

वि.सं. २०७४ को निर्वाचमा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको काँग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । काँग्रेसले हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावावेंसी गाउँपालिकामा प्रमुख तथा ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो ।

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । वि.सं. २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको हो ।

भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी नेकपा (एकीकृत समाजवादी)ले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो ।

यस्तै, जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । काँग्रेस बाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट जसपाले उपप्रमुख जितेको हो ।

तपाईको प्रतिक्रिया