‘मेरो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरियो’: पर्यटनमन्त्री आले

Halesi Khabar
0 Shares

काठमाडौं, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् । बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए ।

उनले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे । अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताए ।

उनले भने, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत बृद्धि भएको छ । तर मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साढे १० अर्ब बजेट कटौती भएको अवस्था छ । मैले पटक-पटक माननीय अर्थमन्त्रीजीलाई भने-माननीय ज्यूहरुको विभिन्न खालका जिज्ञासाहरु छ । बजेट कटौती गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौती भएका छन् । मैले भन्नैपर्छ दुःखका साथ ।’

उनले थपे, ‘त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु । विभिन्न पुरातात्विक महत्वका आयोजनाहरु, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने कुराहरु होस् । पर्यटकलाई भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ । तर, बजेट अभाव भयो । हाम्रो साँढे १० अर्ब बजेट न्यून छ । बजेटको सिलिङबाट हटाइएको छ । कम्तिमा पाँच अर्ब मात्रै दिएको भएपनि । २० लाखको हामी २५ वटा योजना लागू गर्न सक्थ्यौं । तर भएन ।’

उनले फेरि भने, ‘यसो भएको हुनाले म माननीयज्यूहरुलाई के अनुरोध गर्न चाहन्छु भन्दा विगतमा जतिपनि आयोजनाहरु थिए । त्यसले निरन्तरता नपाउँदा तपाईहरुले गुनासो म समक्ष राखेको कुरा मैले यसलाई सहज रुपमा लिएको छु ।’

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए ।

तपाईको प्रतिक्रिया