चुनावमा भोट हाल्न गाउँ हिँडेकी हजुरआमाको हत्या गर्ने नाति पक्राउ

Halesi Khabar
0 Shares

खोटाङ, ९ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ जानेक्रममा हजुरआमाको हत्या गर्ने नाति पक्राउ परेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोक बस्दै आउनुभएकी ७७ वर्षकी तुलसा खड्कालाई भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गर्ने २९ वर्षीय नाति हरि भनिने नीरबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि सम्पर्क बिहिन बनेका खड्कालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले झापाको मेची नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रबाट यही असार ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । पक्राउ परेका खड्कालाई बिहीबार सार्वजनिक गर्दै तुलसाको हत्या घरायसी विवादका कारण हरि आफैले गरेको अनुसन्धनका क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

हत्या गरिएकी तुलसा हरिको कान्छी हजुरआमा रहेको खुलेको छ । हजुरबुबा अमर खड्काको कान्छी श्रीमती तुलसापट्टी कोही सन्तान नरहेको र उनको रेखदेख हरि लगायतले गर्नुपर्ने भएपछि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

तुलसा स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वैशाख २६ गते नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ हिँड्नुभएको थियो । तर, मतदानका लागि हिँड्नुभएकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सुनकोशी नदी किनारमा बिभत्स अवस्थामा भेटिएको थियो ।

बालुवाले आधा पुरिएको बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर परीक्षण गरेको थियो । परीक्षणपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको खड्काको शव जेठ २ गते सदगद गरिएको थियो ।

दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको भतिजी लक्ष्मी खड्का बताउनुभएको छ । बेवारिसे अवस्थामा शव भेटिएको तुलसाको गत जेठ १८ गते सनाखत भएको थियो ।

गत जेठ १० गतेसम्म सम्पर्कमा रहेका अभियुक्त हरि जेठ १३ गतेदेखि सम्पर्क बिहिन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नाति हरि बिरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो ।

पारिवारिक बेमेल र हिङ्सापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राख्नुभएको थियो । शहरबाट स्थानीय तहको निर्वाचनमा मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो ।

लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थियो । तर, आफू विहेमा गएको बेलामा वृद्धावस्थाकी ठुलीआमालाई मतदान गर्न गाउँ लैजाने बहनामा हत्या गरिएको लक्ष्मीको दावी छ ।

मतदानका लागि सँगै गएका हजुरआमा बेपत्ता भएपछि आफन्तले नाति हरिलाई शङ्कास्पद नजरले हेरेका थिए । घटना थप शङ्कास्पद बन्दै गएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातिकै संलग्नता रहेको सामाजिक सञ्जाल.फेसबुकमार्फत लाइभ बसेर दावी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया