खोटाङ, ९ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६० करोड ६९ लाख ३९ हजार बजेट प्रस्तुत गरेको छ । गाउँसभाको पहिलो अधिवेशनमा गाउँपालिका प्रमुख लोकेन्द्र राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम एवम् उपप्रमुख अरुणा थापामगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको छ ।
सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान रु दश करोड ३७ लाख, राजस्व बाडफाँटबाट रु आठ करोड ६२ लाख १९ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु ५५ लाख २८ हजार, राजस्व बाँडफाट (सवारीकर) रु ३९ लाख १३ हजार र विभिन्न स्थानीय कर र शुल्कबाट आन्तरिक आय रु ३० लाख तथा प्रशासनिक सुधारबाट रु दुई करोड ५० लाख गरी रु २२ करोड ७३ लाख ६० हजार अनुमानित आय प्रक्षेपण गरिएको छ । प्रक्षेपण गरिएको अनुमानित आयलाई पुँजीगत खर्चमा रु १५ करोड ४९ लाख चार हजार र चालु खर्चका लागि रु सात करोड २४ लाख ५० हजार छुट्याइएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट सशर्त अनुदान रु २४ करोड ५५ लाख, विशेष अनुदान रु एक करोड ३० लाख, समपुरक अनुदान रु एक करोड ७० लाख र प्रदेशबाट सशर्त अनुदान रु ४० लाख ८५ हजार र समपुरक अनुदान रु एक करोड प्राप्त भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मगरले बजेट प्रस्तुत गर्नुभएको थियो ।
आगामी साउन १ गतेबाट लागू हुनेगरी बालविकास केन्द्रका सहयोगीहरुको रु तीन हजार, लेखा तथा सहयोगी कर्मचारीहरुको रु एक हजार ५०० तलब भत्ता वृद्धि गरिएको छ । अनुदानमा कार्यरत शिक्षकलाई प्रोत्साहन भत्ता मासिक रु तीन हजार तथा सङ्घ र गाउँपालिका अनुदानमा कार्यरत शिक्षकलाई वार्षिक पोशाक भत्ता रु पाँच हजार हुनेगरी बजेट विनियोजन गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा शुक्रबार सातवटाको गाउँ तथा नगरसभा हुँदै छ । यसअघि खोटेहाङ गाउँपालिकाले बुधबार नै गाउँसभा सम्पन्न गरेको थियो भने, केपिलासगढी गाउँपालिकाले शनिबार गर्ने तयारी गरेको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷०८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।