हलेसी तुवाचुङले ल्यायो रु ६४ करोड ५८ लाखको वार्षिक कार्यक्रम

Halesi Khabar
0 Shares

खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६४ करोड ५८ लाख २७ हजार ४५० बराबरको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । दुर्छिमस्थित होलेसुङ रिसोर्टमा बिहीबार सम्पन्न एघारौँ नगरसभामा नगर उपप्रमुख रमेशकुमार राउतले प्रस्तुत गर्नुभएको बजेटसहितको नीति तथा कार्यक्रम नगरसभाले पारित भएको हो ।

आर्थिक वर्ष २०७९÷०८० का लागि नगरपालिकालाई सशर्त अनुदान रु ३४ करोड २३ लाख, समानीकरण अनुदान रु ११ करोड ९३ लाख, समपुरक अनुदान रु एक करोड ३० लाख, प्रदेश सरकार १ नं. प्रदेशको सशर्त अनुदान रु १८ लाख ३७ हजार, समानीकरण अनुदान रु ६४ लाख आठ हजार बजेट प्राप्त भएको छ । सङ्घीय सरकारवाट प्राप्त हुने राजस्व बाँडफाडबाट रु ११ करोड ४९ लाख ९८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट रु एक करोड ५४ लाख ८४ हजार ४५० र प्रदेश समपुरकमा रु एक करोड बजेट प्राप्त भएको छ ।

कूल बजेटमध्येमा २५ प्रतिशत प्रशासनिक खर्च, ३७.१ प्रतिशत प्रतिशत पूर्वाधार विकास, २१.७७ प्रतिशत सामाजिक विकास, ९.९० प्रतिशत आर्थिक विकास, १.१७ प्रतिशत वन, वातावरण विपद, फोहर मैल व्यवस्थापन र ४.८ प्रतिशत सार्वजनिक सेवा तथा सुशासनका लागि नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । यस्तै, नगरपालिकाको वार्षिक आन्तरिक आम्दानी रु ६५ लाख रहेको जनाइएको छ ।

नगर प्रमुख राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख राउतले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरबासीको उन्नति र प्रगति हुने किसिममा वार्षिक नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख राईले दाबी गर्नुभयो ।

नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि व्यवासाय र स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएको छ । भूमी बैङ्कको अवधारणालाई अलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रबृतिलाई निरुत्साहित गर्ने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई प्रोत्सान स्वरुप नगद रकम प्रदान गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको हो ।

यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीयस्तरमा उत्पादन गरिने ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाँको चिनो÷कोशेलीको रुपमा बिक्री÷वितरणको व्यवस्था मिलाइ प्रर्वद्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डक्टर, इन्जिनियर र पाईलट) अध्ययन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रबृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा शुक्रबार सातवटाको गाउँ तथा नगरसभा हुँदै छ । यसअघि खोटेहाङ गाउँपालिकाले बुधबार नै गाउँसभा सम्पन्न गरेको थियो भने, केपिलासगढी गाउँपालिकाले शनिबार गर्ने तयारी गरेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷०८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया