खोटाङ, ११ असार । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दु, बौद्ध र किराँत कर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैङ्कको सहयोगमा मानव गणक मेसिन जडान गरिएको हो ।
केही दिनअघि जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज (शनिबार) रिबन काटेर उद्घाटन गर्नुभएको छ । उप–प्रमुख रमेशकुमार राउत, माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, नगर प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी लगायतको उपस्थितिमा प्रमुख राईले गणक मेसिनको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
हलेसी आउने पर्यटकको गणना गर्नकालागि मन्दिरको गेट (प्रवेशद्धार)मा गणक मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो छ । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिकरुपमा सार्वजनिक गरिने सूचना केन्द्रले जनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा यसअघिसम्म कति पर्यटक आउँथे भन्ने तथ्याङ्क थिएन । आगामी दिनमा गणक मेसिनमार्फत हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क सङ्घलन गरेर उनीहरुको व्यवस्थापन सहज हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि यसअघि सिसी क्यामेरा जडान गरिएको थियो । हलेसीमा लाग्ने मेला तथा भिडभाडको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरिएको हो ।
सिसी क्यामेरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्ने काम भइरहेको छ । महादेवगुफा, पार्वतीथान, बसाहगुफा, प्रवेशद्धार तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटक समेत सजक भएका छन् ।
सिसी क्यामेरा जडान गरेपछि हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको वोर्ड समेत राखिएको छ । नगरपालिकाको करिब रु. सात लाख लगानीमा महिन्तर क्षेत्रको विभिन्न ११ ठाउँमा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ ।
सिसी क्यामेरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भिडभाड गर्ने जस्ता क्रियाकलाप न्युनिकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहरै÷फोहर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ ।
विश्व प्रसिद्ध त्रिर्धामिकस्थल रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला ७ दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चिन, भुटान, बंगलादेश, जापान, अमेरिका लगायतबाट भक्तजन आउने गरेका छन् ।
हलेसी आउने दर्शनार्थी तथा भक्तजनका लागि धर्मशालासमेत निर्माण भइरहेको छ । धार्मिकरुपमा मात्र नभइ प्राकृतिक रुपमासमेत विश्व प्रशिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ ।