किसानसँग रोपाइँ गर्दै जनप्रतिनिधिले मनाए १९ औँ राष्ट्रिय धान दिवस

Halesi Khabar
0 Shares

खोटाङ, १५ असार । किसानसँग रोपाइँ गर्दै खोटाङमा १९ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको प्रयोगशालाको रुपमा प्रयोग भइरहेको खेतमा बुधबार सामुहिक रुपमा रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाइएको हो ।

कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको सहकार्यमा हाते ट्याक्टरले खेत जोतेर हिल्याउँदै धान रोपिएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयत प्रतिष्ठापनमा सहयोग’ भन्ने नारासहित धान दिवस मनाइएको हो ।

धान दिवसमा सामुहिक रुपमा खेतमा आली लगाउने, छेउकुना खन्ने, फ्याउरी हाल्ने, मल हाल्नेदेखि धान रोप्ने काम गरिएको छ । झरी परिरहँदा धान दिवसमा सहभागी हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै रोपाइँमा सहभागी भएका थिए ।

धान दिवसका सहभागीलाई दही, चिउरा, केरा, आँप लगायतका परिकारसमेत खुवाइएको छ । धान दिवसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, उप प्रमुख विशन राई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, शुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई, जिल्ला न्यायाधिवक्ता सँगीता न्यौपाने ढुङ्गेल, कृषि सम्वद्ध कार्यालय, सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, कृषिसँग सम्बन्धित छात्र÷छात्राको सहभागिता थियो ।

दश स्थानीय तह रहेको जिल्लाका १२ हजार ८९८ हेक्टर जमिनमा धान खेती लगाउने गरिएको छ । त्यसमध्ये हालसम्म २६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।

गत वर्षहरुको तुलनामा यस वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले जिल्लामा तीव्रगतिमा धान रोपाइँ भइरहेको छ । समयमा प्रयाप्त वर्षा भएकाले यस वर्ष रोपाइँ गर्न समस्या नरहेको र समयमै रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया