खोटाङ, १५ असार । हलेसी तवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । वि.सं. २०७८ वैशाख महिनादेखि २०७९ वैशाखसम्मका १५ महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
नगरपालिकाका ११ वडाकै स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य चौकीको तथ्याङ्कले नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले बिसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेलाको दुबै मात्रा लगायतका १२ किसिमका खोप लगाइसकेको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार बाँकी चार प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेता पनि सबै खोप लगाइसकेको सर्वेक्षणबाट प्रमाणित भएपछि बुधबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
वर्षदिनमा ५११ जना बालबालिका जन्मिएकामा ४९१ जना बालिबालिकाले विभिन्न वडाको स्वास्थ्य चौकीबाट बाँकी २० जना बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्य चौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाएका छन् । नगर प्रमुख विमला राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
होलेसुङ रिसोर्टमा आयोजित कार्यक्रममा महादेवस्थान स्वास्थ्य चौकीमा कार्यरत बसन्तकुमारी राईलाई नगदसहित उत्कृष्ट स्वयम्सेविका पुरस्कार प्रदान गरिएको छ । खोप कार्यकर्ताहरुलाई दोसल्ला ओढाइ कदरपत्र प्रदान गरिएको र आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वास्थ्य प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।
वि.सं. २०७४ सालदेखि नै नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका लागि परिरहेको र पूर्ण खोप सुनिश्चित नगर बनाइएको नगर प्रमुख राईले बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्यलाई झन प्राथमिकता दिइएको नगर राईको भनाइ छ ।
नगरपालिकाभित्र वर्थिङ सेन्टर (प्रसुतिगृह) सहितको ११ वटै वडामा स्वास्थ्य चौकी र चार वटा शहरी स्वास्थ्य चौकी सञ्चालनमा छ । दुई वटा शहरी स्वास्थ्य चौकीलाई सञ्चालनमा ल्याउन तयारी भइरहेको जनाइएको छ ।