खोटाङ, १८ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा भीषण पहिरो झर्दा एक घर बगाएको छ भने, एघार घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिबाट शुरु भएको पहिरोले स्थानीय बलराम खत्रीको घर बगाएको हो ।
बलरामको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने नभएको स्थानीय बताएका छन् । रातिदेखि निरन्तर झरिरहेको करीब ५०० मिटर लामो पहिरोले स्थानीय भैरबबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको जनाइएको छ ।
कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिरोले ११ घर उच्च जोखिममा परेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्”, उहाँले भन्नभयो, “जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ ।”
पहिरोले स्थानीय भैरबबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदिप राई उच्च जोखिममा परेका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट शुरु भएको पहिरोले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
यसैबीच, वर्षासँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतको श्रीमती ४६ वर्षीया चन्द्रमायाँ राउतको ज्यान गएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक राउतको शव परीक्षण गर्न प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यसोदा राउत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।