खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैंजू चयन

Halesi Khabar
0 Shares

खोटाङ, १८ असार । खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैंजू चयन हुनुभएको छ । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा जिल्ला अधिवेशनबाट सैंजू दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभा हलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले सैंजुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भिषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा सैलेन्द्र बजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरुमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश बजिमय र सन्तोष जोशी रहनुभएको छ । तीन जना सदस्यलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गरेर ल्याउने जनाइएको छ ।

एकेडेमीको प्रथम साधारण सभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो । जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका विभिन्न फुटबल क्लवका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।

खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले नौँदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालीम दिँदै आएको छ । एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालीमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ ।

गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालीमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले बेहोर्नेगरि काठमाडौँको नयाँ बानेश्वरस्थि प्रिमियर कलेजले लगेको छ । बिगत तीन वर्षदेखि निरन्तर तालीम गराउँदै आएको एकेडेमीबाट गत वर्ष नै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो ।

यसअघि एकेडेमीमा तालीम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लवबाट १८ वर्षमुनीका खेलाडी समूहमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यवसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोश्रो भएको थियो ।

एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स् नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स् नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र दश वटा फुटबल उपलब्ध गराएको अध्यक्ष सैंजूले बताउनुभयो ।

जिल्लामा फुटबल खेलप्रति बालबालिका आकर्षित भएपनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकुद विकास समिति क्रियाशील रहेपनि फुटबल खेललाई चासो नदिएको खेलाडीहरुको गुनासो छ ।

 

 

तपाईको प्रतिक्रिया