वर्षासँगै चलेको हावाहुरीले हलेसी तुवाचुङमा लाखौँको क्षति

Halesi Khabar
0 Shares

खोटाङ, १९ असार । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पु¥याएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पु¥याएको नगरका प्रवक्ता एवम् वडा नं. ७ महादेविस्थानका कमल गिरीले बताउनुभयो ।

जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको छ । तर, हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको किसानहरुले बताएका छन् ।

घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् । मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता तामन राईले बताउनुभयो ।

हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङ समेत लडाएको जनाइएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी आउन बाँकी रहेको जानकारी दिनुभयो ।

दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकैबाली हावाहुरीले ढालेर जमिनमा मिलाएको पाइएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो ।

हावाहुरीले मकैमा पु¥याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । मकै सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाको प्रमुख बाली हो ।

वर्षासँगै चलेको हावाहुरीले अन्नबालीमा प¥याएको क्षतिबारे अनुगमन समिति गठन गरेर स्थलगत अध्ययनपछि कृषकलाई राहत उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “वर्षासँगै चलेको हावाहुरीले नगरपालिकाबासी किसानको लाखौँ क्षति भएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई राहत दिलाउन अनुमगन समिति गठन गरेर स्थलगत अध्ययन गर्ने तयारी भइरहेको छ ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष लामो समयको खडेरीले मकैको बोट सुकेपछि उत्पादनमा गिरावट आएको थियो । मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेतीमात्र हुने सुख्खाग्रस्त क्षेत्र हलेसीमा लामो समयको खडेरीले असर गरेपछि नगरबासीमा भोकमरी भएको थियो ।

खानेपानीसमेत आकाशबाट झरेको वर्षाद्को पानी सङ्कलन गरेर उपभोग गर्दै आएका हलेसीका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न शहर पसेका थिए । खेतीपाती बाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई नगरपालिकाबाट राहत अनुदान बापत रु एक करोड ४० लाख बजेटबाट विनियोजन गरेर खाद्यान्न वितरण गरिएको थियो ।

वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको किसानहरुले बताएका छन् । हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया