सागमा पदक विजेता सात खेलाडीलाई नगदसहित सम्मान

Halesi Khabar
0 Shares

खोटाङ, २१ असार । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीहरुलाई खोटाङमा सम्मान गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि शुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक विजेता सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

दिक्तेलस्थित बहुउद्देश्य कभर्ड हलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण पदक, कास्य पदक, रजत पदक विजेता खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही रु दश हजार नगदको साथमा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले बताउनुभयो । सङ्घले १३ औँ साग प्रतियोगितामा तेक्वान्दोमा स्वर्ण पदक विजेता सुशिला राई (सुनसरी), उसुमा कास्य पदक विजेता अशोक खालिङ राई (ईलाम), स्क्वासमा कास्य पदक विजेता भावना सुनुवार (रामेछाप), आर्चरीमा टिम व्यवस्थापक मीनाकुमारी राई ‘रञ्जु’ (उदयपुर), बक्सिङका टिम व्यवस्थापक प्रमिला राई (झापा) र १२ औँ साग प्रतियोगितामा कबड्डीमा कास्य पदक विजेता सम्झना राई (बारा)लाई नगदसहित सम्मान गरेको हो ।

सम्झनालाई आयोजकका साथै सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किराँत राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट समेत रु दश हजारले सम्मान गरिएको छ । यस्तै, मुआईथाई वल्र्ड च्याम्पियन सन्जय राईलाई पनि रु दश हजार नगद र सम्मान–पत्र प्रदान गरिएको छ ।

विजेता खेलाडीहरुलाई प्रदेश सरकार, १ नं. प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले नगद र सम्मान पत्र प्रदान गर्नुभएको थियो । महाधिवेशनको अवसरमा १३ औँ र १२ औँ सागमा स्वर्ण पदक विजेता तीन जना, कास्य पदक विजेता १० जना, रजत पदक विजेता १४ जना, प्रशिक्षक दुई जना र टिम व्यवस्थापक दुई जनासहित ३१ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको थियो ।

सागका अन्य विजेता खेलाडी एशियन क्यामको बन्द प्रशिक्षण र विदेशमा भएकाले सातजनालाई मात्र सम्मान गरिएको आयोजकले जनाएको छ । बाँकी खेलाडीलाई काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

महाधिवेशन उद्घाटन कार्यक्रममा अन्य विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । उद्घाटन सत्रमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।

महाधिवेशनको बन्दसत्र भोलि (बुधबार) हुने आयोजकले जनाएको छ । बन्दसत्रले २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया