खोटाङ, २३ असार । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा बिहिबार बिहान मृत फेला पर्नुभएको हो ।
माइतीतर्फका हजुरबुबाको मृत्यु भएपछि मङ्गलबार माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रो पटक विजयी हुनुभएको थियो ।
स्नातक उत्तिर्ण गर्नुभएकी मेनुजा गाउँ कार्यपालिका सदस्यमा पनि विजयी हुनुभएको थियो । नेपाली काँग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहनुभएकी मेनुजाको दुई छोरी छन् ।
श्रीमान भूपेन्द्र बैदेसिक रोजगारीको सिलसिलामा दुबई रहनुभएका पारिवारिक स्रोतले जनाएको छ । बुधबार राति बुबाआमा मृत्यु भएका हजुरबुबाको कान्छा भाइको घरमा गएपछि मेनुजा बहिनी र दुई छोरीसहित माइती घरमा सुत्नुभएको थियो ।
रातको करिब दुई बजे पिसाब फेर्न गएर आएपछि सुत्नुभएकी मेनुजा घरको तलामा बिहान मृत अवस्थामा फेला परेको जनाइएको छ । पारिवारिक स्रोतका अनुसार मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्दै सुनाउँदै आउनुभएको थियो ।
मृतक मेनुजाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रशेर राई बिहिबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । रुद्रशेरको शव पनि परीक्षण गर्न अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।