जब पूर्वप्रधानमन्त्री ओलीले क्यानभासमा रंग भर्न थाले…

Halesi Khabar
0 Shares

‘पृथ्वीमा सबै हरियाली नाश भएर खाली हुँदैछ । पृथ्वीलाई माथितिरबाट हतौडाले ठोकेर नष्ठ गर्दैछ भने मुनितिरबाट आगोले ध्वस्त बनाउँदैछ । यस्तो समयमा हामीले पृथ्वीलाई जोगाउनुपर्छ ।’  पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सेतो क्यानभास, कही रंगहरु र कुची लिएर चित्र कोर्न तयारी अवस्थामा बसे ।                                                                                    यसअघि कवि तथा गीतकारका रुपमा आफूलाई चिनाएका ओलीले क्यानभानसमा आकृतिसहित रंग भर्न सुरु गरेपछि कला प्रदर्शनी तथा कार्यशालामा व्यस्त देखिएका कलाकर्मी तथा सञ्चारकर्मीहरुको ध्यान उनीतर्फ केन्द्रित भयो ।    ओलीकै मुहार चित्र बनाउन व्यस्त रहेका चित्रकारहरूसमेत उनको चित्र सिर्जना अवलोकन गर्न झुम्मिए। ओलीले क्यानभासमा गोलाकार देखिने आकृतिमा केही रेखाहरु कोरे। गोलाकार आकृतिको ठीक माथि हतौडाको चित्र कोरेका उनले तलतिर दायाँबायाँतर्फ भने आगोको झिल्कोहरु आएको आकृतिहरु कोरे।                                 उनले त्यसैमा आगोको रंग झल्कने सुन्तला रंग भरे। गोलाकार बीचमा खैरो, नीलो छिट्फुट रंगहरु दले। चित्र तयार भएपछि उनले क्यानभासको तल आफ्नो नामहितको हस्ताक्षर गरेर आफ्नो चित्रको अर्थ समेत खुलाए।उनका अनुसार गोलाकार जस्तो देखिने आकृति पृथ्वी र तीभित्रका रेखाहरु भूमध्य र अक्षांश रेखाहरु हुन्।                                                                               केही रंगहरु हल्का देखिए पनि खाली र फिक्का जस्तो देखिने गोलाकार आकृति नै पृथ्वीको प्रतीक रहेको उनले बताए। ‘पृथ्वीमा सबै हरियाली नाश भएर खाली हुँदैछ,’ उनले भने, ‘पृथ्वीलाई माथितिरबाट हतौडाले ठोकेर नष्ठ गर्दैछ भने मुनितिरबाट आगोले ध्वस्त बनाउँदैछ। यस्तो समयमा हामीले पृथ्वीलाई जोगाउनुपर्छ।’ओलीले सबैतिरको आक्रमणबाट अब पृथ्वीलाई जोगाउनुपर्ने सन्देश नै आफ्नो चित्रले दिएको सुनाउँदै गर्दा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारी एवं उपस्थित सबै कलाकर्मीहरुको भिडले ताली गडगडाहटका साथ उनको कलाकृतिको तारिफ गरे।प्रतिष्ठानका चित्रकला विभागले गरेको पुस्तक लोकार्पण, मुहार चित्र कार्यशाला एवं चित्रकला प्रदर्शनीमा ओलीसहित पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी भएका थिए।                                          कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नेकपा एमाले सांस्कृतिक विभाग प्रमुख रघुजी पन्त, राष्ट्रिय जनसांस्कृतिक महासंघका इन्जाज खगेन्द्र राई लगायतको सहभागितामा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित लेखकहरुद्वय यमप्रसाद शर्मा र नेमबहादुर तामाङद्वारा लिखित पुस्तकहरु क्रमशः ‘गोविन्दलाल सिंह डंगोल्ज पेन्टिङ्स डाइभरसिटी इन एक्सप्रेसन’ र ‘कला र सौन्दर्य शास्त्र’ लोकार्पण गरे।पूर्व पराराष्ट्रमन्त्री ज्ञवालीसँगै ओलीले चित्रकारहरु गेहेन्द्रमान अमात्य, कृष्ण मानन्धर, मिथिलादेवी यादव, जीवन राजोपाध्याय लगायतका कलाकृतिहरु र प्रतिष्ठान परिसरमै प्रदर्शन गरिएको नेपाली क्यारिकेचरको समेत प्रदर्शनी अवलोकन गरे।                                                                                  ओलीले आफूलाई कलाकारभन्दा पनि कलालाई मन पराउने व्यक्तिका रुपमा चिनाउँदै नेपालका मूर्त तथा अमूर्त कलाका साथै अन्तर्राष्ट्रिय स्तरका अद्वितीय कलाकृतिहरु पनि विभिन्न समयमा अवलोकन गरेको बताए। उनले सौन्दर्यलाई कला, साहित्यमा ल्याएर एउटा शास्त्रकै रूपमा चिनाउने नेपाललाई उद्गम भूमिको रुपमा व्याख्या गरे।‘मानव सभ्यतासँगै पूर्विय दर्शन, ज्ञान, कलाको विकास हाम्रै भूमिमा भएको थियो’, उनले भने,‘सौन्दर्यलाई कला, साहित्यको रूप दिने र सौन्दर्य चेतलाई शास्त्रमा ल्याउन सुरुवात हामीबाट भयो तर यसको विकास गर्ने काम पश्चिमा मुलुकहरुबाट भयो।’काठमाडौं उपत्यकाका थुपै ठाउँमा अझै पनि हाम्रा परम्परागत प्राचिन मूर्त तथा अमूर्त कलाहरु जीवितै रहेकाले त्यसको संरक्षण र संवर्द्धनमा सरकार तथा सम्बन्धित निकायले पहल गर्नुपर्ने उनले सुनाए।                                                                      मूर्त कलाले यथार्थ दृश्यको झल्को दिएजस्तै अमूर्त कलाका रंग र तिनको संयोजनले मानव मनमा सकारात्मक भाव पैदा गर्न सक्ने उनले जिकिर गरे।ज्ञवालीले नेपालमा ललितकलालाई परम्परागतदेखि हालसम्मको समकालीन तथा आधुनिक समयलाई उठान गर्न ललितकलाकर्मीहरुले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै कलाले समाजिक यथार्थको सुन्दर झलक दिएको बताए।कला कार्यशालामा चित्रकारहरु विजय थापा, कृष्णगोपाल श्रेष्ठ, पृथ्वी श्रेष्ठ, सञ्जय बान्तया, कृष्णप्रकाश शाह लगायतकाले ओली र ज्ञवालीको मुहार चित्रहरु तयार पारे। कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया