दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

Halesi Khabar
0 Shares

खोटाङ, ३२ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई आज (शनिबार) औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको समीक्षालय हलमा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।

सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिबद्धता–पत्रमा हस्ताक्षर सामूहिक गरेका छन् ।

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘¥याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले जानकारी दिनुभयो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य चौकी दोर्पाचिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका तारादेवी राईलाई नगद १५ हजारसहित उत्कृष्ट स्वयम्सेविका पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा गत असार १५ गते हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको थियो । खोटाङलाई वि.सं. २०७४ पुस १४ गते ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया