सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम

Halesi Khabar
0 Shares

खोटाङ, १ साउन । दिक्तेलमा आयोजित १३ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, दश रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।

जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोश्रो भएको छ । यस्तै, तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेश्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले विजेतालाई मेडल र प्रमाण–पत्र प्रदान गर्नुभयो ।

प्रतिष्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् ।

वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी विचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्लास्तरीय प्रतियोगिता यसपल्ट आयोजना गरिएको आयोजकले जनाएको छ । २०७७ चैतमा १२ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगिता आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया