खोटाङ, २ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीस्थित मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खोलिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि बिबाद चर्किदा वि.सं. २०७५ भदौ–२६ गते लागेको ताला आइतबार साँझ खोलिएको हो ।
लामो समयदेखि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला नगरप्रमुख विमला राईको पहलमा आइतबार साँझ खुलाइएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । नगरउपप्रमुख रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक सुनिल धाँजु लगायतको उपस्थिति ताला खोलिएको हो ।
हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको नगरप्रमुख राईले बताउनुभयो । “हलेसी प्राकृतिक श्रोत हो । तर, पोलिटीकल इस्यु बनाइयो । यसले राम्रो मेसेज जाँदैन”, उहाँले भन्नुभयो, “ताला खोल्नका लागि प्रस्ताव राखेँ । सबै कन्भिन्स हुनुभयो । बिबादका कारण चार वर्षदेखि लागेको ताला सबैको सहमतिमा खोलियो ।”
हलेसी गुफाको प्रवेशद्धार अगाडि मन्दिर व्यवस्थापन समितिको कार्यालयको ताला चार वर्षपछि ताडेर सटर खोल्दा कोठा धुलाम्मे अवस्थामा थियो । नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुबै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले बिबाद निम्तिएको थियो ।
नेपाली काँग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिस गरेको समितिलाई मान्यता दिनुपर्ने पक्षमा र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि बिबाद हुँदा मन्दिर व्यवस्थापन समितिको कार्यालयमा ताला लगाउने तहसम्म पुगेको थियो । हर्कराज लगायतका पाँच जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिकातर्फबाट २०७५ भदौ २४ गते कार्यभार सम्हालेको दोस्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि काँग्रेस समर्थकले ताला लगाएको हो ।
साँस्कृतिक सम्पदाको विकासका नाममा गठन गरिएको मन्दिर व्यवस्थापन समितिका पदाधिकारी पार्टीगतरुपमा विभाजित हुनुका पछाडि मन्दिरबाट सङ्कलन हुने भेटी प्रमुख कारण रहेको कतिपयको बुझाइ छ । पछिल्लो समय मन्दिरमा सङ्कलन हुने भेटीलाई पादर्शी बनाउन दान पेटिकाको चाँबी नगरपालिका, मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति र इलाका प्रहरी कार्यालयले राख्ने गरेको छ ।
प्राकृतिक रुपमा समेत विश्व प्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउने भक्तजनले भेटी स्वरुप दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।