करार कर्मचारी हटाएको विरोमा एमालेद्धारा पाँच वडामा तालाबन्दी

Halesi Khabar
0 Shares

खोटाङ, ४ साउन । जन्तेढुङ्गा गाउँपालिकाले करारमा नियुक्त भएका कर्मचारीलाई हटाएको विरोधमा नेकपा (एमाले)ले पाँचवटा वडा तथा वडास्थित सम्पूर्ण सरकारी कार्यालयमा ताला लगाएको छ । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले एमालेको पालामा नियुक्त भएका करार कर्मचारीलाई हटाएको विरोधमा एमालेले वडा नं.–१ देविस्थान, वडा नं.–२ बोपुङ, वडा नं.–४ डम्बर्खुशिवालय, वडा नं.–५ चिसापानी र वडा नं.–६ दिप्लुङको वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको हो ।

छ वडा रहेको उक्त गाउँपालिकामा पाँच वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायिक स्वास्थ्य इकाइ, विद्यालय लगायत सरकारी कार्यालयमा ताला लगाइएको एमाले जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष याम राईले बताउनुभयो । गाउँपालिकाले करारमा नियुक्त भएका ८१ जना कर्मचारीलाई हटाउने निर्णय गरेपछि एमाले तालाबन्दीमा उत्रिएको हो ।

गाउँपालिकाको बजेटबाट तलब पाउनेगरी नियुक्त भएका करार कर्मचारीको साउन–१ गतेदेखि करार म्याद थप नगर्ने निर्णयविरुद्ध विरोधस्वरुप तालाबन्दी गरिएको एमालेले जनाएको छ । गत असार ३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

यसअघि एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारीलाई गठबन्धनबाट विजयी जनप्रतिनिधिले हटाएपछि एमाले रुष्ट बनेको छ । अनावश्यक रुपमा नियुक्त गरिएका करार कर्मचारी हटाएर आवश्यकताका आधारमा पुनः नियुक्त गरिने गाउँपालिकाका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताउनुभएको छ ।

“हामीले हटाएको होइन । उनीहरुको करार अवधि नथपिएको हो”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “आवश्यकताभन्दा बढी कर्मचारी राखिएको रहेछ । त्यसमा एमालेमात्र छैनन् । गठबन्धनका पनि छन् । उनीहरुले रातको समयमा बिना कारण तालाबन्दी गरेका छन् । अहिले छलफल भइरहेको छ । आज कार्यालय समयभन्दा अगाडि खुलाइन्छ ।”

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलको तर्फबाट गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का राई र उपप्रमुखमा नेपाली काँग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको छ । गठबन्धनले गाउँपालिका प्रमुख र उपप्रमुखसहित बहुमत कार्यपालिका बनाएको जन्तेढुङ्गा गाउँपालिकामा यसअघि एमालेका तर्फबाट गाउँपालिका प्रमुखमा शंकरबहादुर राई र उपप्रमुखमा विमला राई विजयी भएको थियो ।

यस्तै, गठबन्धनले नै जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि साउन–१ गतेदेखि लागू हुनेगरी करारका २८ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । करारमा नियुक्त भएका कर्मचारी हटाउने नगरको सो निर्णयविरुद्ध एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङले विरोध जनाएको छ ।

दैनिक ज्यालादारी र करारमा काम गरिरहेका कर्मचारीको गाँस काटेर पेटमा लात हान्ने निर्णय खारेज गरी करार र दैनिक ज्यालादारीका कर्मचारीमाथि कुनै पनि किसिमको राजनीति नगर्न र तत्काल म्याद थप गरी कामकाज गर्ने वातावरण सृजना गर्न सङ्गठनको माग छ । गठबन्धनका जनप्रतिनिधिले आफ्नो मान्छे भर्ती गर्नका लागि करारमा नियुक्त भएका कर्मचारी धमाधम हटाउन थालेको एमालेको आरोप छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत करार कर्मचारीको म्याद थप नगर्ने निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन गर्ने कर्मचारी सङ्ठनको चेतावनी छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलले भने अनावश्यक रुपमा नियुक्त गरिएका करार कर्मचारी हटाउनुलाई स्वभाविक भनेका छन् ।

 

 

तपाईको प्रतिक्रिया