किराँत प्रदेश माग गर्दै दिक्तेलमा जनप्रदर्शन

Halesi Khabar
0 Shares

खोटाङ, ६ साउन । किराँत राई यायोक्खा खोटाङले १ नं. प्रदेशको नाम किराँत राख्न माग गर्दै दिक्तेल बजारमा जनप्रदर्शन गरेको छ । प्रदेश सरकारको आयु सकिन लागेसँगै १ नं. प्रदेशको नामाङ्कन पेचिलो बन्दै गएको अवस्थामा किराँत राई यायोक्खाले शुक्रबार दिक्तेलबजारमा जनप्रदर्शन गरेको हो ।

प्रदेश १ को नामाकरण किराँत गर्नुपर्ने पक्षमा जनदबाब सिर्जना गर्न आयोजना गरिएको ¥यालीले दिक्तेलबजार परिक्रमा गर्नुका साथै ठाउँ–ठाउँमा कोणसभा गरिएको छ । पुरानो बेस क्याम्पमा भएको कोणसभालाई किराँत राई खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राई, हाटडाँडामा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणीचोकमा भएको कोणसभालाई डा. केके राई, भवनगैरामा भएको कोणसभालाई साँस्कृतिक अभियान्ता पर्खनबहादुर राई र यायोक्खाका अध्यक्ष हात्तीराम राईले सम्बोधन गर्नुभएको थियो ।

किराँत राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश १ को किराँत प्रदेश नामाङ्कन गराउन निर्णायक आन्दोलन र दवावमुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो । यायोक्खाले इतिहास, भूगोल, सभ्यता, सँस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किराँत प्रदेश गर्नुपर्ने बताएको छ ।

प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामाङ्कनको विषयले पुनः तीव्र चर्चा पाएको छ । वि.सं. २०७६ वैशाख–२३ गते प्रदेश १ को राजधानी बिराटनगर तोकिए पनि नामाकरण भने हालसम्म भएको छैन ।

एकल पहिचान, बहुपहिचान वा भुगोलका आधारमा प्रदेशको नामाकरण गर्ने विषय टुंगो लाग्न नसक्दा प्रदेश नाम बिहिन छ । कतिपय भूगोल र पहिचानलाई मिलाएर, कतिपयले भूगोलको आधारमा र कतिपय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राख्दा प्रदेश नामाकरणको मुद्धा पेचिलो बनेको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ३९ (सभामुख सहित) जना, कांग्रेसका २१, माओवादी केन्द्रका १५ (१६ मध्ये एक पदमुक्त), एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद छन् । प्रदेशको नामाकरणका लागि दुई तिहाइ संख्या पु¥याउन ६२ जना सांसद आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया