करारमा कार्यरत कर्मचारी हटाइएको बिरोधमा एमालेद्धारा पुनः तालाबन्दी

Halesi Khabar
0 Shares

खोटाङ, ८ साउन । जन्तेढुङ्गा गाउँपालिकाले करारमा कार्यरत ८१ जना कर्मचारी हटाएको बिरोधमा नेकपा (एमाले)ले पुनः तालाबन्दी शुरु गरेको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको भन्दै बिरोधमा उत्रिएको एमाले जन्तेढुङ्गा गाउँपालिका कार्यसमितिले दोस्रो चरणको तालाबन्दीमा उत्रिएको हो ।

एमालेले आज (आइतबार) जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा ताला लगाएको छ । करार कर्मचारी हटाइएको बिरोधमा यही साउन–२ र ३ गते विभिन्न वडामा लगाइएको ताला प्रहरीद्धारा खोलिएपछि एमालेले पुनः वडामा तालाबन्दी शुरु गरेको हो ।

आफ्नो मागको सुनुवाई नगरी ताला खोलेकाले पुनः तालाबन्दी शुरु गरिएको एमाले खोटाङका सचिवालय सदस्य एवम् निवर्तमान गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताउनुभयो । यसअघि लगाइएको ताला वार्ता र छलफल नगरी खोलिएकाले पुनः सबै वडा कार्यालयमा ताला लगाउन शुरु गरिएको एमालेले जनाएको छ ।

करार कर्मचारी हटाइएको विषयले जन्तेढुङ्गामा एमाले र गठबन्धनबीचमा ताला खोल्ने र लगाउने दोहोरी शुरु भएको छ । छ वडामध्ये एमालेले साउन–२ गते वडा नं.–४ डम्बर्खुशिवालय र ३ गते अन्य वडामा ताला लगाएको थियो ।

गाउँपालिकाले प्रहरी लगाएर अन्य वडाको ताला तोडेर कार्यालय सञ्चालन गरेपनि डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन । एमालेले वडा कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेको चिसापानीका वडाध्यक्ष धनबहादुर राईले बताउनुभएको छ ।

गाउँपालिकाको बजेटबाट तलब पाउनेगरी नियुक्त भएका करार कर्मचारीको साउन–१ गतेदेखि करार म्याद थप नगर्ने निर्णय बिरुद्ध एमालेले सम्बन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई लगायतका कार्यालयमा ताला बन्दी गरेको थियो । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष विजयी भएको जन्तेढुङ्गामा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारीलाई गठबन्धनले हटाएपछि एमाले रुष्ट बनेको छ । वडा कार्यालय चिसापानीको तालाबन्दीमा डम्बर्खुशिवालय वडाध्यक्ष बिदुरमान राईको समेत संलग्नता रहेको भन्दै गठबन्धन पक्षले विरोध जनाइरहेका छन् ।

गत असार–३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करार कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेको थियो । यसअघि नियुक्त गरिएका करार कर्मचारीका लागि गाउँपालिकाको स्रोतले तलब खुवाउन नपुग्ने भएकाले आवश्यकताका आधारमा पुनः नियुक्ती गर्ने सबै कर्मचारी हटाइएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि साउन–१ गतेदेखि लागू हुनेगरी करारमा कार्यरत कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म करारका कर्मचारी चलाएको छैन ।

कतिपय स्थानीय तहले आफ्नो मान्छे भर्ती गर्नका लागि यसअघि नियक्त गरिएका करार कर्मचारी धमाधम हटाउन थालेको एमालेको आरोप छ । गठबन्धने भने, एमालेले आवश्यकताभन्दा बढी आफ्ना कार्यकर्ता संरक्षण गर्ने मनसायले करारमा कर्मचारी नियुक्त गरेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया