करार कर्मचारी हटाएको बिरोधमा एमालेद्धारा गाउँपालिका घेराउ

Halesi Khabar
0 Shares

खोटाङ, ९ साउन । करारमा कार्यरत कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेको बिरोधमा नेकपा (एमाले)ले खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेको छ । करारमा कार्यरत कुनै पनि कर्मचारी नहटाउन माग गर्दै गाउँपालिकाका सबै वडा कार्यालयमा ताला बन्दी गरेको एमालेले सोमबार बिहान १० बजेदेखि चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेको हो ।

वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्ती गरेका ८१ जना करार कर्मचारीको करार म्याद गाउँपालिकाले थप नगर्ने निर्णय गरेपछि गाउँपालिकाको कार्यालय घेराउ एमाले खोटाङका सचिवालय सदस्य एवम् निवर्तमान गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताउनुभयो । छ वडा रहेको उक्त गाउँपालिकामा एमालेले साउन–२ र ३ गते विभिन्न पाँच वडामा लगाएको ताला गाउँपालिकाले प्रहरी लगाएर खोलेपछि एमाले रुष्ट बनेको हो ।

करार कर्मचारी हटाइएको विषयले जन्तेढुङ्गामा एमाले र सत्ता गठबन्धन चार राजनीतिक दलबीचमा ताला खोल्ने र लगाउने दोहोरी शुरु भएको छ । छ वडामध्ये एमालेले साउन–२ गते वडा नं.–४ डम्बर्खुशिवालय र ३ गते अन्य वडामा ताला लगाएको थियो ।

गाउँपालिकाको बजेटबाट तलब पाउनेगरी नियुक्त भएका करार कर्मचारीको साउन–१ गतेदेखि करार म्याद थप नगर्ने निर्णय बिरुद्ध एमालेले सम्बन्धित वडाका सबै सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष विजयी भएको जन्तेढुङ्गामा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका थिए ।

एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारीलाई गठबन्धनले हटाएपछि आफूहरु आन्दोलित हुनु परेको एमालेले जनाएको छ । वडा कार्यालय चिसापानीको तालाबन्दीमा डम्बर्खुशिवालय वडाध्यक्ष बिदुरमान राईको समेत संलग्नता रहेको भन्दै गठबन्धन पक्षले विरोध जनाइरहेका छन् ।

गत असार–३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करार कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेको थियो । यसअघि नियुक्त गरिएका करार कर्मचारीका लागि गाउँपालिकाको स्रोतले तलब खुवाउन नपुग्ने भएकाले आवश्यकताका आधारमा पुनः कर्मचारी नियुक्ती गर्नेगरी करारमा कार्यरत सबै कर्मचारी हटाइएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि साउन–१ गतेदेखि लागू हुनेगरी करारमा कार्यरत कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म करारका कर्मचारी चलाएको छैन ।

कतिपय स्थानीय तहले आफ्नो मान्छे भर्ती गर्नका लागि यसअघि नियक्त गरिएका करार कर्मचारी धमाधम हटाउन थालेको एमालेको आरोप छ । गठबन्धने भने, एमालेले आवश्यकताभन्दा बढी आफ्ना कार्यकर्ता संरक्षण गर्ने मनसायले करारमा कर्मचारी नियुक्त गरेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया