काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्। संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ।विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पत्रकारहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको धारणा मागेका थिए। अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठीक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए। जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’ नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’ नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरणसमेत गरिन् । छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको उनले सुनाइन्। राष्ट्रपतिले थपिन्, ‘२० वर्षपछिको संसदको अधिकार छिन्न मिल्दैन। २० वर्षपछि बाटो बनाउन अहिल्यै रुख काट्न मिल्छ?’ ‘गठबन्धन मेरो मामला हैन’ राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको जनाउ दिइन्। उनले गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन्। राष्ट्रपतिले भनिन् ‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो।’ कार्यक्रममा एकजना पत्रकारले अहिले देशमा प्रदेश खारेजीको आवाज उठेको भन्दै यसविषयमा पनि राष्ट्रपतिको धारणा मागेका थिए। यसमा संविधानकी रक्षक राष्ट्रपतिको धारणा थियो,‘प्रदेशको संरचनाबारे प्रश्न उठेको छ। मैले धारणा नबनाई बसेको छ छैन तर मैले व्यक्त गर्न जिम्मेवारीको हिसाबले उपयुक्त हुँदैन जस्तो लाग्छ।’ नेताहरुले चुनाव खर्चिलो भयो भनेर भाषण गर्ने गरेको तर्फ लक्षित गर्दै राष्ट्रपति भण्डारीले प्रश्न गरिन्, चुनावमा बढी खर्च हुन्छ भनेको के हो ? मलाई बुझाइदिनोस् । जनतामा के देखाएर भोट लिने ? आधारभूत कुरामा त जानुपर्छ होला नि ।’
नागरिकताबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन – राष्ट्रपति
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- २. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ३. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ४. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ५. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ६. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी