प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर तयारिमा रहेको छ । कांग्रेसले यो चुनावी तालमेल ५ वर्षसम्म स्थिर सरकारका लागि गर्न लागिएको पनि जनाएको छ।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछु, कांग्रेसले निर्णयमा भनेको छ।
कांग्रेसले गठबन्धन दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने भएको छ।
आमनेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछु, निर्णयमा भनिएको छ, तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसंग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिट छन्। सत्ता गठबन्धनमा रहेका ५ दलबीच यी सिट बाँड्नुपर्नेछ। जसपा फुटेका कारण उपेन्द्र यादव र डा। बाबुराम भट्टराई दुवै पक्षका लागि भिन्नाभिन्नै भाग लगाउनुपर्नेछ।
नेपाली कांग्रेसचाहिँ १०० सिट आफूले राखेर ६५ सिट अरुलाई दिने पक्षमा छ। यसो गर्दा कांग्रेसले ०७४ मा जस्तै ४० सिट समानुपातिकबाट जित्यो भने एक्लै बहुमत पुर्याउने ठाउँ रहनेछ। त्यसो नभए पनि कुनै सानो पार्टीलाई जोडेर सरकार बनाउने सम्भावना रहनेछ।
पाथिभरा डेलीबाटसाभार