शहीद मनोज जोशीको ३१ औँ स्मृति दिवसमा तीनदिने कार्यक्रम

Halesi Khabar
0 Shares

खोटाङ, १३ साउन । शहीद मनोज जोशीको ३१ औँ स्मृति दिवसको अवसरमा खोटाङमा तीनदिने कार्यक्रम शुरु भएको छ । वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लालेर ज्यान गुमाएका जोशीको स्मृतिमा तीनदिनसम्म विभिन्न कार्यक्रम गर्दै दिवस मनाउन शुरु गरिएको हो ।

शहीद जोशीको स्मृति दिवसको अवसर पारेर आज (साउन–१३ गते) दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गर्नुका साथै अनेरास्ववियुको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु खोटाङले आयोजना गरेको रक्तदान कार्यक्रममा जिल्लाका पाँच जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रम एमाले खोटाङका उप–सचिव एवम् विद्यालय बिभाग प्रमुख दीपनारायण रिजालले रक्तदान गरेर उद्घाटन गर्नुभएको थियो । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको शहीद मनोज जोशी स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष एवम् एमाले खोटाङका जिल्ला सचिव कुमार आचार्यले बताउनुभयो ।

प्रतिष्टानले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि (साउन–१४ गते) बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र साउन–१५ गते जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । प्रतिष्ठानले साउन–१५ गतेदेखि खोटाङ फुटबल एकेडेमीको आयोजनामा शुरु हुने ‘अन्तर संस्था कप २०७९’ फुटबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजनको घोषणासमेत गरेको छ ।

जिल्लामा शहीद मनोज जोशी स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै स्मृति दिवस मनाउँदै आएको छ । जोशीलाई हत्या भएको २६ वर्षपछि सरकारले वि.सं. २०७४ माघ–२२ गते शहीद घोषणा गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीले गोली प्रहार गरेको थियो । बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहारसमेत गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी जोशीको हत्या भएको सोही घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा शहीद ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइँदै आइएको छ ।

शहीद जोशीको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइएपनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रमा निर्माण सामग्री राखेर शहीदहरुप्रति नै अपमान गरेको पाइएको छ । शहीद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल बनाएको विषयमा प्रतिष्ठानको समेत चासो गएको छैन ।

स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्की लगायतका निर्माण सामग्री भण्डारण गर्ने गरेका छन् । शहीद जोशीको समाधि तथा शालिक राखिएको ठाउँ हडपेर जथाभावी व्यापारिक प्रयोजनका सामग्री राखिएको विषयलाई लिएर परिवारले भने दुःख व्यक्त गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया