खोटाङ, १४ साउन । कोठामा सल बाँधेर पिङ खेल्नेक्रममा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी नौँ वर्षीया बालिका रोमी गुरुङको मृत्यु भएको छ । दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–४ मा अध्ययनरत गुरुङको शुक्रबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा मृत्यु भएको हो ।
कोठामा बुबाआमा नभएको समयमा भाइ÷बहिनीसँग निदाल (घरका दलिन अड्याउन राखिने काठ)मा सल बाँधेर पिङ खेल्नेक्रममा सोही सलमा बेरिएर पाँसो लागेको अनुमान गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र रत्नपार्कका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले बताउनुभयो । “बालिकाको आमा तरकारी किन्न पसल गएका रहेछन्”, उहाँले भन्नुभयो, “कोठामा आउँदा छोरी झुण्डिरहेको देखेपछि प्रहरीलाई खबर गर्नुभयो । तत्काल घटनास्थल पुग्दा मृत्यु भइसकेको रहेछ !”
मृतक बालिकाको शव शुक्रबार राति नै परीक्षण गर्न जिल्ला अस्पताल दिक्तेल लगिएको स्थानीय राजन केसीले बताउनुभयो । घटनाको बारेमा स्थलगत सर्वजमिन मुचुल्का गरेपछि बालिकाको शव परीक्षण गरेर दाहसँस्कारका लागि उनको आफन्तलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।
मृतक रोमीको बुबा रविन गुरुङ जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आउनुभएको छ । तीन छोराछोरीको बुबा रविन तिनै छोछाछोरीको पठन÷पाठनका लागि श्रीमती सिर्जना राई (गुरुङ)सहित कोठा भाडामा लिएर दिक्तेलमा बस्दै आउनुभएको जनाइएको छ ।
मृतक बालिका रविन र सिर्जनाको जेठी छोरी हुन् । उनको मृत्यु भएपछि गुरुङ दम्पत्ती शोकमा डुबेका छन् ।