खोटाङ, १४ साउन । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको ‘ प्रथम अन्तर संस्था कप फुटबल प्रतियोगिता २०७९’ भोलिबाट शुरु हुँदै छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एकेडेमीले आज (शनिबार) साँझ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा जिल्लाका २२ संस्थाको सहभागिता हुने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैंजूले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो खेल जिल्ला नापी कार्यालय र जिल्ला फुटबल सङ्घ खोटाङबीच हुने भएको छ ।
यस्तै, दोस्रो खेल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र र पशु विकास कार्यालय दिक्तेल तथा तेस्रो खेल हलेसी तुवाचुङ नगरपालिका र बैङ्क वित्तीय संस्थाबीच हुने जनाइएको छ । प्रतियोगितामा दिक्तेल बोर्डिङ स्कूल र निर्माण व्यवसायी सङ्घ, युवा जागरण फुटबल क्लब र नेपाल शिक्षक सङ्घ हलेसी तथा शिक्षक महासङ्घ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
खोटाङ यातायात प्रालि, साकेला गाउँपालिका, जिल्ला अस्पताल, डिभिजन वन कार्यालय, नेर्पा स्पोर्टस क्लब, खोटाङ उद्योग वाणिज्य सङ्घ, खोटाङ फुटबल एकेडेमी, तुवाचुङ मारातिका यातायात प्रालि, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद र सालपा विकास बैङ्क वाईमा परेको छ । प्रतियोगितामा प्रथम हुने संस्थाले नगद रु ४४ हजार ४४४, दोस्रो हुनेले रु २२ हजार २२२ तथा तेस्रो हुनेले रु ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उच्च गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट मिड फिल्ड र उत्कृष्ट गोल कर्तालाई ट्रफी प्रदान गरिने केएफएका महासचिवमा सैलेन्द्र बजिमयले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृति प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।
केएफए पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङलाई प्रदान गरिने अध्यक्ष सैंजूले जानकारी दिनुभयो । प्रतियोगिताबाट आठवटा संस्था छनौट गरेर सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।