खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङ्माङ मृत फेला परेका छन् । दिक्तेलस्थित किराँत चोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्याक्टर चालक हिङ्माङ आज (बिहान) सुतेकै ठाउँमा शङकास्पद अवस्थामा मृत फेला परेका हुन् ।
मृतक हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताउनुभयो । “घटनाको बारेमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “पोष्टमार्टम रिपोर्ट आएपछिमात्र यथार्थ भन्न सकिन्छ ।”
दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताउनुभयो । मृतक हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।
किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानबिन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले बताउनुभयो । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उहाँले भन्नुभयो, “किसनको मृत्यु नभइ हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानबिन नगरी पोष्टमार्टम गर्न हुँदैन ।”
मृतक हिङ्माङ बुधबार साँझ स्थानीय एक होटलमा साथीहरुसँग मादक पदार्थ सेवन गरेर बसिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेका हिङ्माङलाई हिँड्न नसक्ने भएपछि साथीहरुले बोकेर राति उनको कोठा (लाहुरे हार्डवेयर)मा लगेर सुताएको स्रोतले जनाएको छ ।
मृतक हिङ्माङको श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।