खोटाङ, २२ साउन ।
कृषिविज्ञ मदन राईसहित खोटाङका तीन नेताले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेपछि कृषिविज्ञ राई, केन्द्रीय सदस्य सुर्यबहादुर राई र १ नं. प्रदेश समिति सदस्य मोहन गुरुङले आ–आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गर्नुभएको हो ।
भट्टराईको सन्दर्भ आउँदा खुलेर प्रशंसा गर्दै आउनुभएका कृषिविज्ञ राई नेपाल समाजवादी पार्टीमै रहने जिल्लाबासीको आँकलन थियो । जनता समाजवादीका केन्द्रीय सदस्य रहनुभएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू भट्टराई नेतृत्वको पार्टीबाट अलग रहेको जनाउनुभएको हो ।
आगामी दिनमा ‘क्याडरलेस–पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले साथ दिने कृषिविज्ञ राईले बताउनुभएको छ । काँग्रेसको राजनीति छाडेर १६ वर्षसम्म स्वतन्त्र बस्नुभएका राई वि.सं. २०७२ सालमा भट्टराईले नयाँ शक्ति गठन गरेपछि उहाँसँग जोडिनुभएको थियो ।
“क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो । सेवामुखी र परिवर्तनको राजनीति मैले छोड्न सकिनँ” कृषिविज्ञ राईको स्टाटसमा भनिएको छ, “भट्टराई पावर र मिसमासतिर तानिनु भो । मेरो बिचारले मानेन । हामी सल्लाहमै अलग बाटो लाग्ने निधो ग¥यौँ । सात वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर, अभ्यास धेरै भए । राम्रा भए । अरुलाई सहयोग गर्न धेरै काम लाग्नेछन् ।”
यस्तै, केन्द्रीय सदस्य सुर्यबहादुरले पनि नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति लयायत कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाउनुभएको छ । समाबेसी, सुशासन र सम्मृद्धिको लागि बैकल्पिक राजनीति यात्राबाट बिचलित नहुने भन्नुहुँदै उहाँले भट्टराई नेतृत्वको पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहने बताउनुभएको हो ।
“नेपालको आर्थिक सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनै पर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर बैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा बैकल्पिक राजनीतिको गन्तव्य ठिक ढङ्गले अगाडी बढेन । यस अभियानमा पनि बैचारिक तथा व्यबहारिक बिचलन देखियो”, उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ,
उहाँले थप्नुभएको छ, “बैकल्पिक सोच नै बिघटनको दिशातिर उन्मुख भयो । तर, मुलुकलाई बैकल्पिक राजनीतिको आवश्यक्ता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दा कै आधारमा अगाडि नै बग्ने निष्कर्षमा पुगे । यसर्थ आजबाट नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति लयायत कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउद छु ।”
यसैगरी, प्रदेश समिति सदस्य मोहन गुरुङले पनि भट्टराई नेतृत्वको पार्टीमा आफू नरहेको बताउनुभएको छ । नेकपा एमाले परित्यागगरी तत्कालीन नयाँ शक्ति पार्टी हुँदै जसपाको प्रदेश सदस्य बन्नुभएको गुरुङले बैचारिक बिचलन र सिद्धान्तहिन अकर्मण्यताको आफू सिकार नहुने बताउनुभएको छ ।
“उपेन्द्र अशोकको र बाबुरामको झोलेहरुको दोहोरी सुन्न मन छैन । बैकल्पिक पार्टी बनाउने हुँदा ज्यानको प्रवाह नगरी दोस्रो फोटो हुनेगरि अति दुःख गरेको थिए र अब गणतन्त्र, धर्मनिरपेक्ष्यता, सङ्घीयता, समाबेसीता लगायतको मुद्दा उठाउन जसपा र नेसपाको झोले बनेर मात्र पाइन्छ भनेर भ्रममा पर्नु बेकार देखिएको छ”, उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ ।
उहाँले थप्नुभएको छ, “सत्ता र कुर्सी पाएपछि सबै एजेन्डा तिलान्जलि दिएर सत्ता रसमा भुलेर जनतालाई भ्रममा पारेको प्रष्ट छ । सत्ता पाएपछि च्यातेको जलायको संविधान रक्षा गर्न भन्दै गठबन्धनको रणनीतिमा पार्टी चुकेको समेत ठहर गरेको छु । यो चरित्र अवसरबादी चरित्र भएको समेत स्पष्ट पार्न चाहन्छु । आजकै मितिबाट यो बैचारिक बिचलन र सिद्धान्तहिन अकर्मण्यताको आफू सिकार नहुने तर, राजनीति एजेन्डा कायम राख्नेगरि स्वतन्त्र भएको सार्वजनिक गर्दछु ।”
तीन नेताले भट्टराई नेतृत्वको पार्टी छाडेसँगै जिल्लामा नेपाल समाजवादी पार्टीको प्रतिनिधि शुन्य भएको छ । उता, उपेन्द्र यादव नेतृत्वको पार्टीका नेताहरु भने, अहिलेसम्म हलचल भएका छैनन् ।