खोटाङमा पुनः देखियो कोरोना, २१ जनामा सङ्क्रमण पुष्टि

Halesi Khabar
0 Shares

खोटाङ, २४ साउन । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९)को सङ्क्रमण देखिन थालेको छ । जिल्ला अस्पताल खोटाङमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नितु लामाले बताउनुभयो । हिजो (सोमबार)सम्म गरिएको ४४ जना एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको थियो ।

मङ्गलबार (आज) १४ जनाको परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई होम आइसोलेशनमा राखिएको डा. लामाले बताउनुभयो ।

कोरोनाको लक्षण देखिन थालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण शुरु भएको छ । सबै स्थानीय तहको तथ्याङ्क भने आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन एवम् रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो ।

विमानस्थलहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयहरुमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवा प्रदायक कार्यालयहरुको प्रवेशद्धारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाई लगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रमहरुमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भीडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जनस्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थानहरुमा मास्क लगाउन प्रेरित गर्न सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म तीन हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा हालसम्म १५ जनाको ज्यान गइसकेको छ ।

जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार ४३० जनाले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको प्रमुख सिक्देलले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट आज (सोमबार)बाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पताल खोटाङका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिनुभयो । मुन रक्स इन्टरनेशनल प्रा.लि.ले जडान गरेको अक्सिजन प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले सोमबार उद्घाटन गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया