भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी, औषधि सेवन गर्दै उपचार गर्न बाध्य

Halesi Khabar
0 Shares

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिन यता अधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी खाने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

जिल्ला अस्पतालको ओपिडि (बहिरङ्ग) सेवामा दैनिक १५० जनाको हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा. पुष्कल राईले बताउनुभयो । “चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई आवश्यक औषधि दिएर कम्तिमा दश दिनसम्म होम आइसुलेशनमा बस्नुस् भनेर उनीहरुको आ–आफ्नै घर पठाउने गरेका छौँ ।”

कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका छन् । जिल्ला अस्पतालका ५८ जना स्वास्थ्यकर्मीमध्ये १४ जना स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रविन फुयाँलले जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई निरन्तरता दिन कतिपय स्वास्थ्यकर्मी औषधि सेवन गर्दै बिरामीको उपचारमा खटिइरहेका छन् । जिल्लामा कोभिड–१९ को लक्षण देखिने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेपछि जिल्लाबासी त्रसित बनेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि सञ्चालन गरिएका कोभिड अस्पतालहरु अहिले निश्क्रिय छन् । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि निश्क्रिय अस्पतालहरुलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री जुटाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन एवम् रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो ।

विमानस्थलहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयहरुमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवा प्रदायक कार्यालयहरुको प्रवेशद्धारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाई लगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रमहरुमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भीडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जनस्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थानहरुमा मास्क लगाउन प्रेरित गर्न सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म तीन हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा हालसम्म १५ जनाको ज्यान गइसकेको छ ।

जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार ४३० जनाले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिक्देलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताउनुभएको छ । प्रदेश सरकार, १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट गत सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया