काठमाडौँ, १ भदौ । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा रु ९१ अर्ब आम्दानी गर्दा रु २२ अर्ब २५ करोड खर्च गरेको छ । गत साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट रु ७९ अर्ब ७२ करोड २५ लाख आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत सङ्कलन हो ।
एक महिनामा रु ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ । अन्य आम्दानी रु १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल रु ९१ अर्ब आम्दानी भएको महालेखाले जनाएको छ । आम्दानीमा सरकारले दिने आन्तरिक तथा बाह्य ऋण भने जोडिदैन ।
यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत रु २२ अर्ब २५ करोड ८७ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।
सरकारले यस वर्ष रु १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च रु ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ रु १५ अर्ब ११ करोड खर्च भएको छ ।
पूँजीगत खर्च भने रु एक अर्ब ४८ करोड ४६ लाख मात्र भएको छ । यो लक्ष्यको ०.९३ प्रतिशत मात्र हो । सरकारले चालु आवमा पूँजीगत तर्फ रु तीन खर्ब ८० करोड खर्च गर्ने लक्ष्य राखेको छ ।
पूँजीगत खर्चका लागि गर्नुपर्ने पूर्वतयारीका काम आर्थिक वर्षको प्रारम्भिक महिनामा गर्ने प्रचलन रहेको छ । सोहीकारण पूँजीगत खर्च भने कम हुने गर्छ ।