खोटाङ, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका जिल्ला अध्यक्ष टङ्कबहादुर थापा लगायतका समूह नेकपा (माओवादी केन्द्र)मा समाहित हुने भएको छ । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै साउन–३० गते पार्टी छाडेका अध्यक्ष थापासहितको समूहले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा समाहित भएको जनाएको हो ।
लामो समयदेखि मुलुकको आमुल परिवर्तनको खातिर विभिन्न किसिमका राजनीतिक आन्दोलनहरुमा सहभागी भइ अग्रगामी परिवर्तनको पक्षमा निरन्तर सङ्घर्ष गरेको तथा पहिचानसहितको सङ्घीयता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मुल प्रवाहबाट पृथक नरहने भन्दै उनीहरुले माओवादी केन्द्र रोजेको विज्ञप्तिमा उल्लेख छ ।
“अहिले मुलुकले समाजवादी राजनीतिक नेतृत्वका साथ सहि राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजि भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “यसै सन्दर्भमा मुलुकलाई वर्तमान राजनीतिक परिवेशसम्म ल्याइ पु¥याउन लामो समय सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान उपलब्धिको समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले नेपालको एकमात्र वैकल्पिक पार्टी माओवादी केन्द्र भएकाले समाहित भएका हौँ ।”
पहिलो चरणमा जिल्ला तहमा छलफल गरि समाहित भएको र यो क्रम जिल्ला, पालिका, वडा र टोलस्तरसम्म हुने विज्ञप्तिमा भनिएको छ । समाहित हुनेमा जिल्ला अध्यक्ष थापा, सचिव देवकुमार राई, सचिवालय सदस्यहरु नविनकिशोर राई, दीपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ रहनुभएको छ ।
यसअघि मङ्गलबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै जसपाले अध्यक्षसहित तीन जनाले मात्र पार्टी परित्याग गरेको दावी गरेको छ । अध्यक्ष थापासहित ३९ जनाले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेको भोलीपल्टै पत्रकार सम्मेलन गर्दैै जसपाले अध्यक्ष थापा, सचिव राई र सचिवालय सदस्य तामाङले मात्र पार्टी परित्याग गरेको दावी गरेको हो ।
पार्टी परित्यागको सूचीमा राखिएका कतिपय नेताले लिष्टमा सार्वजनिक रुपमै जसपामा रहेको बताइरहेको उपाध्यक्ष पिके खम्बूले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टी परित्याग गरेका कसैलाई पनि कारबाही नगरिएको तर, सो बारेमा प्रदेश समितिलाई जानकारी दिइएको जनाइएको छ ।
थापाले ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र छ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिनुभएको छ । अध्यक्ष थापा लगायत ३९ जनाले पार्टी परित्यागको घोषणा गरेपछि जसपाले पत्रकार सम्मेलनमार्फत खण्डन गरेको हो ।