खोटाङ, १ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले वि.सं. २०७७ फागुन–२१ गते नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र पठाउँदै ‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने’ सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।
सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत साउन–१६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेकाले ज्ञापनपत्र बुझाइएको नेकपाका खोटाङ सेक्रेटरी सञ्जिव लुङ्गेलीमगरले बताउनुभयो । अदालतले जारी गरेको पक्राउ पुर्जी सरकार र नेकपाबीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जबरजस्त द्धन्द्धमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन–पत्रमा उल्लेख छ ।
“सहमति अनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्याकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्दा खारेज गरिएको छैन”, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहलाई बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, “उल्टै नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाउतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।”
नेकपाले मुलुकमा भ्रष्टाचार र असिमित रुपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार समक्ष ज्ञापनपत्रमार्फत माग गरेको छ । “देश चरम मूल्यवृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । भ्रष्टाचारले गर्दा देश कङ्गालीकरणतर्फ धकेलिएको छ”, ज्ञापनपत्रमा भनिएको छ, “चर्को मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बन्दै गएको छ । तत्काल भ्रष्टाचार रोक्न र असिमित रुपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दछौँ ।”
ज्ञापन–पत्रमा नेपालको सामरिक महत्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुद बनाउने उद्देश्यमा आधारित एमसिसि सम्झौता र एसपिपि परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, बिगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धी तथा सम्झौताहरु तत्काल खारेज गर्नसमेत नेकपाले माग गरेको छ ।